कतार विश्वकप २०२२

दक्षिण कोरिया लगातार १०औं पटक विश्वकपमा

सियोल । मंगलबार सिरियालाई २-० ले पराजित गर्दै दक्षिण कोरियाले लगातार १०औं पटक विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

विश्वकपको एसियन छनोटअन्तर्गत समूह ‘ए’ मा रहेको दक्षिण कोरियाले दोस्रो स्थानमा रहदै विश्वकपमा आफ्नो स्थान पक्का गरेको हो । यस समूहबाट इरानले समूह विजेताको रुपमा विश्वकपको टिकट काटिसकेको छ ।

कतारमा नाेभेम्बर २१ देखि सुरु हुने फुटबलको महाकुम्भमा हालसम्म १५ टोलीले आफ्नो स्थान सुरक्षित गरिसकेका छन् भने अझै १७ टोलीको स्थान खाली छ ।

एसिया छनोटको समूह ‘बी’ अन्तर्ग ओमानसँग २-२ को बराबरी खेलेसँगै अस्ट्रेलियाको सोझै छनोट हुने सम्भावना शीर्ष दुई टोलीमा निर्भर रहने भएको छ । आठ खेलबाट १९ अंक जोडेको साउदी अरेबीया समूहको शीर्ष स्थानमा छ । त्यस्तै समान खेलबाट १८ अंक जोडेको जापान दोस्रो स्थानमा रहँदा १५ अंक जोडेको अस्ट्रेलिया तेस्रो स्थानमा छ ।

छनोटको तेस्रो स्थानमा रहने टोलीले विश्वकपमा स्थान बनाउँन क्वालिफायर्स खेल्नु पर्नेछ । समूहका सबै टोलीले अब दुई खेल खेल्न बाँकी छ ।