खेलाडी सरुवा

मेरो खुसीको बयान शब्दले गर्न सक्दैनः हेफेरनान

मिलान । इटालियन सिरी ‘ए’ क्लब एसी मिलान अनुबन्धित भएपछि आयरल्यान्ड यु १७ फुटबल टोलीका कप्तान क्याथल हेफेरनानले आफ्नो खुसी ‘शब्दमा बयान गर्न नसक्ने’ प्रतिकृया दिएका छन् ।

मात्र १६ वर्षका डिफेन्डर हेफेरनान आयरल्यान्डकै क्लब कोर्क सिटी फुटबल क्लबबाट लोनमा मिलान भित्रिएका हुन् । र, मिलानले हेफेरनानसँग स्थायी सम्झौता गर्न सक्ने सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । यद्यपि, पछिल्लो वर्ष आयरल्यान्डको राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरेका हेफेरनान अहिले भने सिरी ‘ए’ क्लबमा ट्रायलमा रहनेछन् ।

‘मेरो खुसीको बयान शब्दले गर्न सक्दैन । मिलानबाट खेल्न निकै उत्साहित छु । यहाँसम्म आइपुग्न सहयोग गर्ने मेरो परिवारलाई धन्यवाद दिन चाहन्छु’ उनले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा लेखेका छन् ।