यु-१९ विश्वकप

यु १९ विश्वकपः फाइनलका लागि अस्ट्रेलियाको सामना गर्दै भारत

एन्टिगोवा । वेस्ट इन्डिजमा जारी यु १९ विश्वकपको फाइनल प्रवेशका लागि बुधबार दोस्रो सेमिफाइनलमा दुई बलिया टोली भारत र अस्ट्रेलिया आमने सामने हुँदैछन् ।

भारत र अस्ट्रेलिया यु १९ विश्वकपको इतिहासमा तेस्रो पटक नकआउट चरणमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।

सन् २०१८ को फाइनलमा भारतले अस्ट्रेलियालाई नै पराजित गर्दै विश्वकपको उपाधि जितेको थियो । फाइनलमा आठ विकेटको सहज जित निकाल्दा भारत पृथ्वि सको कप्तानीमा थियो । तर, त्यसको दुई वर्षपछि भएको प्रतियोगितमा भारत अस्ट्रेलियालाई क्वार्टरफाइलनबाटै घर पठाएको थियो । अन्तिम आठमा ७४ रनको जित निकाल्दा भारतीय टोलीको कप्तानी कार्तिक त्यागीले सम्हालेका थिए ।

यसपटक सेमिफाइलन प्रवेश गर्ने क्रममा भारतले क्वार्टरफाइनलमा बंगलादेशलाई पाँच विकेटले पराजित गर्दा अस्ट्रेलियाले पाकिस्तानलाई एक सय १९ रनले हराएको थियो ।

भारतले पछिल्लो पाँच खेल गुमाएको छैन भने अस्ट्रेलियाले चार खेलमा जित निकाल्दा एकमा हारको नतिजा आत्मसाथ गरेको छ । भारत दिनेश बानाको कप्तानीमा मैदान उत्रँदा अस्ट्रेलियाको नेतृत्व कुपर कोनोलीले सम्हाल्ने छन् ।

एन्टिगोवास्थित कोलिज क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजेबाट सुरु हुनेछ ।

यसअघि मगंलबार भएको पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई डकवर्थ लेविस पद्दतिमा १५ रनले पराजित गर्दै इङ्ल्यान्डले फाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ ।