इङ्लिस प्रिमियर लिग

टोटेनह्याम र क्रिस्टल प्यालेसको खेल पनि स्थगित हुने सम्भावना

लन्डन । कोरोना भाइरसको संक्रमण पुन: बढ्न थालेसँगै इङ्लिस प्रिमियर लिगका खेलहरू लगातार स्थगित भइरहेका छन् । यसै क्रममा आज अर्थात बक्सिङ डेमा हुने तय भएको टोटेनह्याम र क्रिस्टल प्यालेसबीचको खेल पनि स्थगित हुने सम्भावना बढेको छ ।

दुवै टोलीका यसअघिका केही खेल स्थगित भइसकेका छन् । टोटेनह्यामका यसअघि तय भएका बर्न्ली, ब्राइटन र लेस्टर सिटीविरुद्धका खेल स्थगित हुँदा एन्टोनियो कोन्टेको टोली तीन खेल पछाडि परेको छ । यस्तै, प्यालेसले अन्तिम चरणका लागि तय भएको वाटफोर्डविरुद्धको खेल गुमाएको थियो ।

फुटबल लन्डनको रिपोर्टअनुसार प्याट्रिक भिएराको टोलीका दुई ब्याकरूम स्टाफमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसअघि शुक्रबार भएको पत्रकार सम्मेलनमा प्यालेसका मुख्य प्रशिक्षक भिएराले टोटेनह्यामसँग खेल्न पाउने आशा व्यक्त गरेका थिए ।

उनले आफ्नो क्लबमा केही पोजिटिभ केस देखिएको र आफूहरू संक्रमणबाट बच्नका लागि सक्दो प्रयास गर्नेसमेत बताएका थिए ।

कोरोना संक्रमणकै कारण यो साता तय भएका लिभरपुल र लिड्स, वुल्भ र वाटफोर्ड, बर्न्ली र एभर्टनबीच हुने खेल पनि स्थगित भइसकेका छन् ।

आज राति पौने ९ बजे हुने तय भएका म्यानचेस्टर सिटी र लेस्टर, आर्सनल र नर्विच, वेस्ट ह्याम र साउथह्याम्टनबीचका खेल हुन सक्ने छन् । यस्तै, ११ः१५ बजे हुने तय भएको चेल्सी र एस्टोन भिल्लाबीचको खेलबारे पनि स्थगित हुनेबारे केही चर्चा छैन ।