कीर्तिमानी यात्राको निरन्तरता खोज्दै इटाली

लन्डन, (खेलाडी)- वेम्बली रंगशालामा शनिबार मध्यरातमा अस्ट्रियाविरुद्ध खेल्दै युरोपियन च्याम्पियनसिप (युरो २०२०) को नकआउट चरणमा यात्रा थाल्दा इटाली यही खेलबाट दुई फरक राष्‍ट्रिय कीर्तिमानको खोजीमा हुनेछ ।

समूह चरणमा टर्की, स्विट्जरल्यान्ड र वेल्सलाई हराउँदै विजेताका रुपमा नकआउट चरण पुग्‍ने क्रममा इटालीले सात गोल गरेको थियो । जुन विश्‍वकप १९९८ यता कुनै पनि प्रमूख प्रतियोगिताको समूह चरणमा टोलीले गरेको सर्वाधिक गोल संख्या हो ।

रोबर्टो मान्चिनीको टोलीले सबैखाले प्रतियोगितामा गरी लगातार ११ खेलमा जित हासिल गरिसकेको छ । यसक्रममा टोलीले एउटै गोल सामना गर्नुपरेको छैन । इटालीले गोल नखाएको खेल समय १७ घण्टा ३५ मिनेट पुगिसकेको छ । पछिल्लो पटक इटालीको पोष्‍टमा २०२० को अक्टोबरमा नेदरल्यान्ड्सका डनी भान डी बिकले गोल गरेका थिए । 

थप एक खेलमा पोष्‍ट सुरक्षित राख्‍न सके टोलीले १९७२ देखि १९७४ को बीचमा १२ खेलसम्म एउटै गोल नखाएको आफ्नै पुरानो कीर्तिमानसँग बराबरी गर्नेछ । साथा टोलीले पछिल्ले समय १ हजार १ सय ४३ मिनेटसम्म पोष्‍ट सुरक्षित राखेको खेल समयमा पनि सुधार गर्नेछ । 

१९३५ देखि १९३९ को बीचमा इटालीले ३० खेलसम्म अपराजित रहेर कीर्तिमान बनाएको थियो । आजको खेलमा हार टार्न सके टोली त्यो कीर्तिमानसँग पनि बराबरी गर्न सफल हुनेछ । 

म्युनिखमा हुने क्‍वार्टरफाइनलमा फिफा विश्‍व वरियताको शीर्ष टोली बेल्जियम वा साविक विजेता पोर्चुगलविरुद्ध मैदान उत्रिनका लागि इटालीले आज राति अस्ट्रियालाई हराउनै पर्छ । अस्ट्रियाले १९६० डिसेम्बरयता खेलेका १३ मध्ये कुनै पनि खेलमा इटालीमाथि जित हासिल गर्न सकेको छैन । 

इटालीले अस्ट्रियाविरुद्ध प्रमूख प्रतियोगितामा भएका सबै चार खेलमा जित हासिल गरेको छ । तर लन्डनमा भने इटालीको इतिहास त्यति राम्रो छैन । लन्डनमा खेलेका १३ खेलमध्ये इटालीले दुई खेलमामात्र जितको स्वाद चाखेको छ । 

‘अस्ट्रिया शारिरिक फुटबल खेल्ने टिम हो । उनीहरुको उत्साह अहिले उच्च छ । तर हामी इटाली हौं, हामी जितका लागि मैदान प्रवेश गर्नेछौं,’ इटालीका रक्षक जियोभानी डी लोरेन्जोले खेलअघिको पत्रकार सम्मेलनमा शुक्रबार भने, ‘समूह चरणमा मलाई कुनै पनि चिन्ता थिएन । हामी खाली खेलमा केन्द्रित थियौं र अघिल्लो चरण पुग्‍न चाहन्थ्यौं । अब नकआउट चरण सुरु हुँदैछ । यो प्रतियोगिताको मुख्य चरण हो । जहाँ सानो पनि गल्ति गर्ने छुट हुने छैन । तर हामी नकआउट चरणको व्यग्रताका साथ प्रतिक्षा गरिरहेका छौं ।’