विराट गोल्डकप

विराट गोल्डकपः उपाधिमा दुवै टोलीको दाबी

विराटनगर ।  विराट गोल्डकपको आठौं संस्करणमा उपाधि जित्नेमा मच्छिन्द्र फुटबल क्लब र घरेली टिम सांग्रीला मोरङ फुटबल संघ आत्मविश्वासी देखिएका छन् ।

फाइनल शनिबार विराटनगरको सहिद रंगशालामा साँझ ६ः४५ बजे सुरु हुनेछ । जित निकाल्दै मछिन्द्र पहिलो र मोरङ तेस्रो पटक च्याम्पियन बन्ने लक्ष्यमा छन् ।

शुक्रबार प्रि-म्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक र कप्तानले उपाधि जित्नका लागि मैदमा उत्रिने बताए ।

मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले प्रतियोगितामा टिमको लक्ष्य उपाधि जित्नु रहेको बताए । ‘यो सँगै सिजनको तेस्रो पटक गोल्डकपको उपाधि जित्ने लक्ष्यको साथ खेलाडी मैदान उत्रिनेछन्,’ प्रशिक्षक न्यौपानेले भने,’ ‘यसअघि केपी ओली कप र बागमती गोल्डकपको उपाधि जितिसकेका छौं । खेलको सुरुवातदेखि आक्रमण रूपमा मैदान उत्रिने रणतिनित हुनेछ ।’ 

 कप्तान विशाल श्रेष्ठले नयाँ च्याम्पियन बनेर इतिहास रच्ने लक्ष्य रहेको बताए । ‘हामीलाई थाहा छ यो  प्रतिष्ठित प्रतियोगिता हो । त्यसैले हामी उपाधि उचाल्न उ सबैभन्दा राम्रो खेल्ने छौँ,’ उनले भने ।

मच्छिन्द्रले क्वार्टरफाइनलमा कोलकाताको साउर्थन समिति २-१ तथा सेमिफाइनलमा  सिक्किम ड्रागनलाई १-० ले हराउँदै पहिलो पटक फाइनलमा स्थान पक्का गरेको हो ।

मोरङले क्वार्टरफाइलनमा भुटानको रोथल थिम्पु एफसीलाई ३-० तथा सेमिफाइनलमा विभागीय टोली नेपाल एपिएफ क्लबलाई सडनडेथमा ४-३ ले हराउँदै फाइनल पुगेको हो ।

मोरङका प्रशिक्षक रानु रानामगरले घरेलु दर्शकको साथ र हौसलाले उपाधि जित्ने दाबी गरे । ‘मच्छिन्द्र राम्रो टिम हो । अनुभवी खेलाडी छन् । त्यही भएर हामी टेक्निकल खेल प्रर्दशन गर्नेछौ,’ उनले भने, ‘हामी ग्राउण्ड लेभलबाट खेल खेल्नेछौं ।’

सांग्रीलाका कप्तान अभिषेक लिम्बुले होम ग्राउण्डमा घरेलु दर्शकको साथ सहयोग र टोलीलै उत्कृष्ट प्रदर्शन गरिरहेकाले  गोल्डकपको फाइनलको उपाधि जित्ने दाबी गरे ।  ‘अघिल्ला खेलको कमीकमजोरी सुधारेर प्रदर्शन गर्ने र च्याम्पियन बनेरै छाड्नेछौं,’ कप्तान लिम्बुले भने,‘ हामी उत्कृष्ट खेल पस्किदै दर्शकको मन जित्नेछौं ।’

चैत १५ देखि सुरु भएको प्रतियोगितामा तीन विदेशीसहित १० टिमको सहभागिता थियो ।  गोल्डकपको विजेताले ११ लाख र उपविजेताले ५ लाख ५० हजार रुपैयाँ पाउनेछन् । उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलकिपर र  सर्वाधिक गोलकर्तालाई जनही २१ हजार रुपैयाँ  प्रदान गरिनेछ ।