इङ्लिस प्रिमियर लिग

लिभरपुलको सहज जित

काठमाडौं । लिग लिडर लिभरपुलले इङ्लिस प्रिमियर लिगमा लिगमा शनिबार घरेलु टोली ब्रेन्टफोर्डमाथि ४-१ को सहज जित निकालेको छ ।

जिटेक कम्युनिटी रंगशालामा लिभरपुललाई जित दिलाउन डार्बिन नुनेज, एलेक्सिस म्याक एलिस्टर, मोहम्मद सलाह र कोडी गाक्पोले गोल गरे । ब्रेन्टफोर्डका लागि इभान टोनीले एक गोल फर्काए ।

जितसँगै शीर्ष स्थानको लिभरपुलले २५ खेलमा ५७ अंक जोडेको छ । पराजित ब्रेन्टफोर्ड २४ खेलमा २५ अंकका साथ १४औं स्थानमा छ ।

खेलको ३५औं मिनेटमा नुनेजको गोलमार्फत लिभरपुलले अग्रता लिएको थियो । ५५औं मिनेटमा एलिस्टरले टोलीको अग्रता दोब्बर बनाए ।

६८औं मिनेटमा सलाहले लिभरपुलका लागि तेस्रो गोल गरे । सात मिनेटपछि टोनीले गोल गर्दा खेल ३-१ को स्थितीमा आयो ।

निर्धारित समय सकिन चार मिनेट बाँकी छँदा गाक्पाले गोल गर्दै लिभरपुललाई ४-१को सहज जित दिलाए ।