वाफ महिला च्याम्पियनसिप २०२४

वाफ च्याम्पियनसिप: नेपाल समूह ‘बी’ मा, पहिलो खेल सिरीयासँग खेल्ने

काठमाडौं । साउदी अरेबियामा आयोजना हुने वाफ महिला च्याम्पियनसिप २०२४ मा नेपाल समूह ‘बी’ मा परेको छ । सोमबार सम्पन्न समूह विभाजनमा नेपाल प्यालेस्टाइन, सिरीया र इराकसँगै समूह ‘बी’ मा परेको हो ।

आठ टोलीको सहभागिता रहने प्रतियोगितामा आयोजक साउदी अरेबिया, ग्वाम, लेबनन र जोर्डन समूह ‘ए’ मा परेका छन् ।

नेपालले आफ्नो पहिलो खेलमा सिरीयाको सामना गर्नेछ । सिरीयाविरुद्धको खेल फेब्रुअरी २० मा हुनेछ । त्यसको दुई दिनपछि नेपालको सामना इराकसँग हुनेछ । समूहको अन्तिम खेलमा नेपालले फेब्रुअरी २४ मा प्यालेस्टाइनविरुद्ध खेल्नेछ ।

समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । गल्फ राष्ट्रहरु प्रतिस्पर्धा गर्ने प्रतियोगितामा नेपालले यसपाली आमन्त्रित टोलीका रूपमा सहभागिता जनाउन लागेको हो । फेब्रुअरी १९ देखि २८ सम्म हुने प्रतियोगिताको समूह चरणका खेलहरु जेडाह सहरस्थित किङ अब्दुल्ला स्पोर्ट्स सिटी रंगशालामा हुनेछन् । सेमिफाइनल र फाइनल भने प्रिन्स अब्दुल्ला अल फैसल स्पोर्ट्स सिटीमा हुनेछन् ।

प्रतियोगिताका लागि नेपाली राष्ट्रिय महिला टोली अहिले बन्द प्रशिक्षणमा छ । मुख्य प्रशिक्षक राजेन्द्र तामाङको नेतृत्वमा हाल ३१ सदस्यीय टोली बन्द प्रशिक्षणमा छन् । माघ १० गते प्रशिक्षक तामाङले ४० खेलाडीको प्रारम्भिक टोली घोषणा गरेका थिए । गत शनिबार १० दिनपछि तामाङले ९ खेलाडीलाई बाहिर राखेका हुन् ।

टोलीको सहायक प्रशिक्षकमा कमला राखल र श्याम मानन्धर रहेका छन् । त्यस्तै अखिल नेपाल फुटबल संघ९एन्फा०ले व्यवस्थापकमा ब्रिन्दा दीवान र गोलकिपर प्रशिक्षकमा उज्जवल मानन्धरलाई जिम्मेवारी दिएको छ ।

प्रतियोगिताअघि अन्तिम टोली घोषणा हुनेछ ।

यस्तो ३१ सदस्यीय टोलीः

गोलकपिरःएन्जिला तुम्बाप्पो सुब्बा, अन्जना रानामगर, उषा नाथ, सपना राई

रक्षकः अमृता जैसी, गीता राना हीराकुमारी भुजेल, पुजा राना, विमला विक, निशा थोकर, समिक्षा घिमिरे, सवीना चौधरी, गंगा गुरुङ, प्रतिक्षा चौधरी

मिडफिल्डरः अनिता केसी, सरस्वती हमाल, सम्झना लावती, अन्जली मच्छामे, विमला चौधरी, अनीता बस्नेत, प्रीति राई, दीपा शाही, दीपा न्यौपाने,  मनमाया दमाइ

फरवार्डः सवीता राना मगर, अमिषा कार्की, सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ, अनुष्का शेर्पा, रेखा पौडेल, चन्द्र भण्डारी