इङ्लिस प्रिमियर लिग

टोटनहमको खराब प्रदर्शनको जिम्मेवारी खेलाडीले लिनु पर्ने भेगाको भनाई

लन्डन । रामोन भेगाले टोलीको खराब लयको जिम्मेवारी एउटा प्रशिक्षकले मात्र नभई समग्र टोलीले नै लिनुपर्ने बताएका छन् ।

इङ्लिस प्रिमियर लिगमा शनिबार म्यानचेस्टर युनाइटेडसँग ३ ० पराजित भएपछि टोटनहमले आइतबार नुनो स्परिटो सान्टोलाई बर्खास्त गरेको थियो ।

 जोजे माउरिन्हो बर्खास्तगीमा परेपछि सान्टो पाँच महिना अघि मात्र टोटनहम आएका थिए । एन्टोनियो कोन्टेलाई टोटनहमको भावी प्रशिक्षकको रुपमा हेरिएको छ । 

सान्टोको प्रशिक्षणमा प्रिमियर लिगका १० खेलमा टोटनहमले पाँच जित र पाँच हार व्यहोरेको थियो ।

क्लबका पूर्व रक्षक भेगाले खेलाडीहरुले प्रशिक्षकप्रति असल नियत नदेखाएको आरोप लगाए । साथै उनले सान्टोलाई भित्राउनु अघि कोन्टेलाई किन नभित्राएको भन्दै क्लब अध्यक्षलाई प्रश्न गरे ।

‘खेलाडीले टोलीको खराब लयको जिम्मेवारी लिनुपर्छ । उनीहरु खेलप्रति गम्भिर भएनन’,भेगाले भने, ‘यसमा प्रशिक्षकलाई मात्र दोष दिनु राम्रो होइन । खेलाडीले राम्रो प्रदर्शन गर्दैन भने सान्टोको स्थानमा अन्य कोही प्रशिक्षक भएको भएपनि नतिजा यो भन्दा फरक आउँदैन थियो । अहिले क्लबले कोन्टेलाई नयाँ प्रशिक्षकको रुपमा भित्राउने चर्चा चुलिएको छ । मेरो प्रश्न यो हो की ,सान्टोलाई टोली प्रशिक्षणको जिम्मेवारी दिनु अघि नै किन कोन्टेलाई ल्याइएन ? टोटनहमले राम्रो प्रशिक्षकको छबी बनाएका सान्टोमाथि अन्याय गर्यो ।’