फिफा क्लब विश्वकप

म्यानचेस्टर सिटीले जित्यो फिफा क्लब विश्वकप

काठमाडौं । अर्जेन्टिनी स्टार जुलियन अल्भारेजको दुई गोल प्रेरित म्यानचेष्टर सिटीले फिफा क्लब विश्वकपको उपाधि पहिलो पटक जितेको छ ।

शुक्रबार राति साउदी अरबमा भएको फाइनलमा ब्राजेलियन फ्लुमिनेन्सलाई ४–० ले हराउँदै इङ्लिस क्लब सिटीले पहिलो पटक उपाधि जितेको हो ।

सिटीको जितमा अर्जेन्टिनी स्टारले दुई तथा फिल फोडेनले एक गोल गरे । फ्युमिनेन्सका मोटा फिल्होले आत्माघाति गोल गरे ।

खेलको पहिलो मिनेटमै अल्भारेजले सिटीलाई अग्रता दिलाएका हुन्् । नाथन एकेले मिलाएको लामो पासमा अल्भारेजले  खेल सुरु भएको ४० सेकेन्डमै गोल गरेका हुन् ।

२७औं मिनेटमा फिल्होले आत्माघाति गोल गर्दा सिटी पहिलो हाफमै २–० ले अगाडी बढ्यो । अल्भारेजको पासमा फोडेनले ७२औं मिनेटमा तेस्रो गोल गरे । नुनेजको पासमा अल्भारेजले ब्यक्तिगत दोस्रो तथा टोलीको लागि चौथो गोल गर्दै सिटीको जित पक्का गरेका हुन् ।

पेप ग्वार्डिओला प्रशिक्षण रहेको सिटीले यसै सिजन च्याम्पियन्स लिग, प्रिमियर लिग, लिग कप र युईएफए सुपर कपको उपाधि जितेको थियो । ग्वार्डिओलाले यसअघि बार्सिलोना र बायर्न म्युनिखबाट क्लब विश्वपकको उपाधि जितेका थिए ।

सिटी भने क्लब विश्वकपको उपाधि जित्ने चौथो इङ्लिस क्लब बन्यो । यसअघि म्यानचेष्टर युनाइटेड, लिभरपुल र चेल्सीले यो उपलब्धी हासिल गरेका थिए ।

‘साँच्चै यो वर्ष निकै बिशेष रहयो । हामीले यो वर्ष सबै जितेका छौं,’ प्रशिक्षक ग्वार्डिओलाले भने ।