नेपाली फुटबल

लाओसको सामना गर्न उत्साहित छौंः प्रशिक्षक एनेस

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिसेन्जो अल्बर्टो एनेसले लाओसको सामना गर्न उत्साहित रहेको बताएका छन् ।

फिफा विश्वकप २०२६ छनोटको प्रारम्भिक चारण अन्तर्गतको खेलअघि बुधबार एनेसले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘लाओसविरुद्धको खेल हाम्रा लागि कती महत्वपूर्ण छ भन्ने सबैलाई सबैलाई थाहा छ । हामीले दुई महिनाको तयारी गरेका छौँ । यसबीचमा म्यानमारसँग दुई तथा स्थानीय क्लबसँग केही मैत्रीपुर्ण खेल्यौ । सबै खेलाडी सबै फिट छन्’, एनेसले भने,‘ हामीलाई  घरेलु मैदानको फाइदा हुनेछ । मेरा लागि यो पहिलो विश्वकप छनोट भएकाले झनै महत्वपूर्ण छ । हामी भोलि मैदानमा राम्रो प्रदर्शन गर्छौ । हामीले गत मार्चमा थ्री नेसन्स लिगमा लाओसको सामना गरेका थियौं । तर, त्यती बेला र अहिलोको पस्थितिमा निकै परिवर्तन भइसकेको छ । लाओसको टोली  फेरिएको छ । उनीहरुले पनि राम्रो तयारी गरेका छन् । खेल रोमाञ्चक हुन्छ भन्ने आशा छ । खेलका लागि उत्साहित छौं । जित निकाल्दै दोस्रो चरणमा पुग्ने चाहना छ ।’

नेपालले विश्वकप छनोटको प्रारम्भिक चरणअन्तर्गत पहिलो लेगमा बिहीबार लाओसको सामना गर्दैछ । यो खेलमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझा ५ः३० बजे सुरु हुनेछ ।