एनएसएल

धनगढीको ब्रान्ड एम्बास्डरमा मिस पवी

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को साविक उपविजेता टोली धनगढी एफसीले आफ्नो ब्रान्ड एम्बास्डरमा कलाकार तथा मोडल मिस पवी (पवी साँकी) लाईं नियुक्त गरेको छ ।

ग्रो ड्रिमर्सको स्वामित्वमा रहेको धनगढी एफसीका सिईयो सकुश केसी र कलाकार मिस पवीले ब्रान्ड एम्बास्डर नियुक्तिको सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार मिस पवी यस सिजनको एनएसएलको लागि धनगढी एफसीको ब्रान्ड एम्बास्डर हुनेछिन । धनगढी एफसीको खेलका बेला मिस पवीले स्टेडियममा बसेर धनगढी एफसीलाई समर्थन समेत गर्नेछिन् ।

धनगढी एफसीको ब्रान्ड एम्बास्डर नियुक्त भएपछि मिस पवीले एकदमै उत्साहित भएको प्रतिक्रिया दिइन् । ‘ूनेपाल सुपर लिगको साविक उपविजेता टोली धनगढी एफसीको ब्रान्ड एम्बास्डरका रुपमा जोडिन पाउँदा म एकदमै उत्साहित छु । कहिले दशरथ रंगशालामा खेल होला र कहिले खेल हेर्न जाउला भनेर आतुर पनि भैसँके,’ उनले भनिन् ।

धनगढी एफसीका सिईयो केसीले सुदूरपश्चिम र कर्णाली प्रदेशको प्रतिनिधत्व गरिरहेको धनगढी एफसीको ब्रान्ड एम्बास्डरको रुपमा सोही क्षेत्रकै लोकप्रिय कलाकार मिस पवीलाई ब्रान्ड एम्बास्डरको रुपमा पाउँदा खुशी व्यक्त गरे ।

नेपाल सुपर लिगको दोस्रो संस्करण आगामी मंसिर ८ देखि पौष २१ गतेसम्म काठमाडौंको दशरथ रंगशालामा हुँदैछ ।  एनएसएलको यस सिजनका लागि धनगढी एफसीको मार्की खेलाडीमा नेपाली राष्ट्रिय टिमका प्रतिभावान अट्याकर आशिष चौधरी छन् ।  आशिषले शहीद स्मारक लिग ‘ए’ डिभिजन लिगमा चर्च ब्याइज यूनाइटेडबाट खेल्दै टोलीलाई लिग च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

अक्सनबाट धनगढी एफसीले साइमन लिम्बु, निशान लिम्बु, मिलन राई, सुरेश कुमाल, रन्दीप पौडेल, मनोज राई, कमल श्रेष्ठ, टेकेन्द्र सिंह थापा, देवेन्द्र तामाङ, हेमन्त श्रेष्ठ, अभिषेक गुरुङ, कृतिश रत्न छुन्जु र रामचन्द्र वाजीलाईं अनुबन्ध गरिसकेको छ ।

प्रशिक्षकमा धनगढी एफसीले युगोलकिशोर राईंलाई निरन्तरता दिएको छ । धनगढी एफसीले आफ्नो पहिलो खेलमा  वीरगञ्ज यूनाइटेडसँग खेल्ने तालिका छ ।