एनएसएल

एनएसएलको तालिका सार्वजनिक, उद्घाटन खेलमा काठमाडौं र इलाम भिड्ने

पहिलो संस्करणको एनएसएल विजेता काठमाडौं रेन्जर्स

काठमाडौं । नेपाल सुपर लिग(एनएसएल)को दोस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ ।

आयोजक नेपाल स्पोर्टस एन्ड इभेन्ट म्यानेजमेन्ट (एनएसएइम)ले आइतबार विज्ञप्ति जारी गर्दै प्रतियोगितको तालिका सार्वजनिक गरेको हो ।

प्रतियोगिताको उद्घाटन खेल मंसिर ८ गते साबिक विजेता काठमाडौं रेर्जस र नयाँ टोली स्पोर्टिङ इलाम दि मेची फुटबल क्लबबीच हुनेछ ।

पौष १४ सम्म सञ्चालन प्रतियोगितामा ९ टोलीको सहभागिता रहनेछ । यसअघि १० फ्रेन्चाइज टोलीले प्रतियोगिता खेल्ने घोषणा भएको थियो । तर प्रतियोगिता सुरु हुन तीन महिना बाँकी छँदा विराटनगर सिटी फुटबल क्लबले आफ्नो नाम फिर्ता लिएको आयोजकले बताएको छ ।

प्रतियोगिताको सबै खेल काठमाडौंमा खेलाइनेछ । क्लबहरुको आर्थिक अवस्थालाई मध्यनजर गर्दै आयोजक एनएसएइमले यसपाली पनि प्रतियोगितालाई काठमाडौंमै सिमित राखेको हो । यसअघि एनएसएइमले केही खेलहरु उपत्यका बाहिर गर्ने योजना बनाएको थियो ।

कोभिड महामारीका कारण पहिलो संस्करणका सबै खेलहरु विना दर्शक त्रिपुरेश्वरको दशरथ रंगशालामा भएको थियो । यसपाली भने दर्शकहरुको लोभलाग्दो उपस्थितिको आश गरिएको छ ।

प्रतियोगिताका लागि यसअघि नै अक्सन भइसकेको थियो । तर खेलाडीको विदेश पलायनका कारण यही असोज १९ गते पुनः अक्सन गरिँदैछ । 

प्रतियोगितामा साबिक विजेता काठमाडौं रेजर्स, उपविजेता धनगढी फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, बुटवल लुम्बिनी फुटबल क्लब, पोखरा थन्डर्स, फुटबल क्लब चितवन, झापा फुटबल क्लब, स्पोर्टिङ इलाम दि मेची फुटबल क्लब र वीरगन्ज युनाइटेड फुटबल क्लबहरुको सहभागिता छ । यी मध्ये झापा, इलाम र वीरगन्ज नयाँ टोली हुन् ।