आहा रारा पोखरा गोल्डकप

आहा रारा पोखरा गोल्डकपबाट ३ लाख १८ हजार बचत

काठमाठौं । २२ औं आहा रारा पोखरा गोल्डकपबाट ३ लाख १८ हजार ६ सय रुपैयाँ बचत भएको छ । आयोजक सहारा क्लबले मंगलबार पत्रकार सम्मलेनमार्फत गत वर्षको पुस १४ देखि २३ सम्म आयोजना भएको २२औं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको आय व्यय सर्वाजनिक गरेको हो । 

प्रतियोगिताको कुल आम्दानी ९५ लाख ६५ हजार ६ सय २६ तथा खर्च ९१ लाख ४६ हजार ९ सय ६९ रुपैयाँ रहेको आयोजकाले बताएको छ । जसबाट ३ लाख १८ हजार ६ सय रुपैयाँ बचत भएको छ ।

साथै प्रतियोगितामा मुख्य प्रायोजकबाट १ लाख रुपैयाँ बराबरको रारा तयारी चाउचाउ दर्शकहरुलाई वितरण गरिएको थियो । टेल्जी इलेक्ट्रिक स्कुटरको तर्फबाट बेस्ट प्लेयर प्रायोजन बापत एक लाख पच्चीस हजार रुपैयाँ, एक्सटेप स्पोर्टस वयर काठमाडौंबाट स्वयंसेवक पोशाक प्रायोजन बापत एक लाख रुपौयाँ, बुद्ध एयरबाट २६ वटा हवाई टिकट (पोखरा-काठमाण्डौं), सिजी कम्पनीबाट ३० हजार बराबरको २४ इन्च एलसिडी टिभी (एक भाग्यशाली दर्शकलाई) पुरस्कार र सहारा युकेबाट ‘म्यान अफ द म्याच ’ट्रफी सहित नगद, वेस्ट अफ फाइब ट्रफी र अन्य ट्रफी मेडल गरी २ लाख २० हजार बराबरको अतिरिक्त सहयोग प्राप्त भएको थियो ।

कुल १० टोली सहभागि प्रतियोगितामा संकटा क्लब च्याम्पियन तथा अमेरिकाको भुटनीज युथ स्पोर्टस क्लब उपविजेता बनेका थिए । प्रतियोगिताको विजेताले १२ र उपविजेताले ६ लाख रुपैयाँ प्राप्त गरेका थिए ।

प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालि र प्रवर्द्धक पोखरा महानगरपालिका थिए । यसैगरी राष्ट्रिय खेलकुद परिषद् (राखेप), प्रदेश खेलकुद परिषद गण्डकी, सहारा युके, सहारा क्लब हङकङ लगायतले विशेष सहयोग गरेका थिए ।

सहारा क्लब पोखरा द्वारा सञ्चालित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीको सहयोगार्थ प्रत्येक वर्ष यो प्रतियोगिता आयोजना हुँदै आएको छ ।