साउदी प्रो लिग

दोस्रो जितको दाउमा अल अहली

काठमाडौ । साउदी प्रो-लिगमा बिहीबार राति दुई खेल आयोजना हुँदैछन् ।

नेपाली समय अनुसार राति पौने १२ बजे हुने खेलमा अल खालिज र अल अहलीबीच प्रतिस्पर्धा हुँदैछ । युरोपमा खेलिरहेका खेलाडीको साथ पाएको अल अहली लगातार दोस्रो जितको खोजीमा छ ।

अल अहलीले पहिलो खेलमा लिभरपुलका पूर्व स्ट्राइकर रोबर्टाे फिर्मिनोले ह्याट्रिक पूरा गरेपछि अल हाजिमलाई ३-१ ले हराएको थियो । फिर्मिनोले खेलको ६, १० र ७२ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए ।

अल अहलीले यसैसिजन फिर्मिनोसँगै चेल्सीका पूर्व गोलकिपर इडुआर्ड मेन्डी, म्यानचेष्टर सिटीका मिडफिल्डर रियाद मेहरेज, बार्सिलोनाको रक्षक फ्राङ्क केसिइलाई अनुबन्ध गरेको छ ।

यसैगरी दिनको पहिलो खेलमा डामाक र अल रियादबीच राती पौने ९ बजे प्रतिस्पर्धा हुनेछ ।

पछिल्लो साताबाट सुरु भएको प्रो लिगमा तीन अंक जोड्दै साविक विजेता अल इत्तिहाक शीर्षस्थानमा रहँदा अल अहली दोस्रो स्थानमा छ ।