फिफा महिला विश्वकप २०२३

स्पेन पहिलो पटक सेमिफाइनलमा

काठमाडौं । स्पेन पहिलो पटक फिफा महिला विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

साविक उपविजेता नेदरल्यान्ड्सलाई शुक्रबार बिहान विलिंघटनमा अतिरिक्त समयमा २–१ ले हराउँदै सेमिफाइलनमा स्थान बनाएको हो । फाइनल प्रवेशका लागि स्पेनले जापान र स्विडेनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

सन् २०१५ बाट फिफा विश्वकप खेल्न थालेको स्पेन पहिलो पटक अन्तिम चारमा स्थान बनाएको हो । सन् २०१५ मा समूह चरण पार गर्न सकेन ।  सन् २०१९ मा भने अन्तिम १६ बाट बाहिरिएको थियो ।

न्युजिल्यान्ड भएको खेलको ९० मिनेट १–१ गोलको बराबरी भएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा धकेलिएको थियो । खेल सकिँन ९ मिनेटअघि साल्मा पारालुइलाले विजयी गोल गरेकी हुन् ।

स्पेनको जितमा मारियोना ओलिभर काल्डेन्टे र साल्मा पारालुइलोले समान गोल गरेका थिए । नेदरल्यान्डस्को लागि स्टेफनी भान डेर ग्राटले एक गोल फर्काइन् ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । स्पेनले खेलको ३८औं मिनेटमा गोल गरेपनि भिडियो सहायक रेफ्रीले त्यसलाई मान्यता दिएन । एस्थर गोन्जालेजले स्पेनको लागि गोल गरेकी हुन् । तर, त्यसले मान्यता पाएन ।

पाएको पेनाल्टी सदुपयोग गर्दै मारिओनाले ८१औं मिनेटमा स्पेनलाई अग्रता दिलाइन् । ९० मिनेटपछिको इन्जुरी समयमा भान डेरले गोल गरेपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।

एक सय ११औं मिनेटमा साल्माले गोल गरेपछि स्पेन पहिलो पटक फाइनलमा स्थान बनाएको हो । यससँगै साविक उपविजेता नेदरल्यान्ड्सको यात्रा क्वार्टरफाइनलमै समाप्त भएको छ ।

स्पेनले स्विट्जरल्यान्ड्सलाई ५–१ ले हराउँदै अन्तिम आठको स्थान पक्का गरेको हो । नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई २–० ले हराएको हो ।

आज नै हुने अर्काे खेलमा जापान र स्विडेनबीच प्रतिस्पर्धा हुनेछ । अकल्यान्डको इडेन पार्कमा खेल दिउसो सवाँ १ बजे सुरु हुनेछ ।

सन् २०११ को विजेता जापानले नर्वेलाई ३–१ ले हराएको हो । स्विडेनले साविक चार पटकको विजेता अमेरिकालाई पेनाल्टी सुटआउटमा पाखा लगाएको थियो ।