नेइमारको फुटबलप्रतिको मोह नघट्ने कप्तान सिल्भाको विश्वास

रियो दि जेनेरियो, (खेलाडी)-  ब्राजिलका कप्तान थियागो सिल्भाले विश्वकप २०२२ पछि अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने संकेत गरेको नेइमारको फुटबलप्रतिको मोह नघट्ने विश्वास व्यक्त गरेका छन् ।

नेइमारले मंगलबार कतार विश्वकप २०२२ नै आफ्ना लागि अन्तिम विश्वकप हुने बताएका थिए । नेइमारले सन् २०२६ को विश्वकपसम्म आफुले स्वभाविक लयमा खेल्न सक्नेमा शंका भएको बताएका थिए ।

नेइमारले ब्राजिलबाट सन् २०१३ को कन्फिडरेसन कप र २०१६ को रियो ओलम्पिकका स्वर्ण पदक जितेका थिए ।

'खेलजीवनमा धेरै चुनौतीहरु आउछन् र ती चुनौतीको सामना गर्दै अघि बढ्नु पर्छ,' सिल्भाले भने, 'मैले पनि सन् २०१४ मा घरेलु मैदानमा सम्पन्न विश्वकपको असफलतापछि भावुक बन्दै फुटबल छोड्ने सोच बनाएको थिए तर मैले आफ्नो सोच परिवर्तन गरे । मलाई कमजोर मानसिकताको कप्तान भनियो । मलाई मानसिक दबाब दिइयो । ती कुराहरुबाट म निराश पक्कै भए तर मेरोे फुटबलप्रतिको मोह भने घटेन । आशा छ नेइमारको पनि फुटबलप्रतिको मोह र लगाव घट्ने छेैन ।'

'नेइमार क्षमतावान खेलाडी हुन्,' सिल्भाले भने, 'नेइमारलाई केही समस्या छ भने हामी सबै उनलाई साथ दिन तयार छौ ।'

कोलम्बियासँग गोलरहित बराबरीमा रोकिएसँगै विश्वकप छनोटमा ब्राजिलको जित यात्रामा पूर्ण विराम लागेको थियो ।