मैत्रीपूर्ण खेल

अल-नासरको फराकिलो हार

काठमाडौं । साउदी क्लब अल-नासरले प्रि-सिजनको मैत्रीपूर्ण खेलमा स्पेनिस क्लब सेल्टा भिगोसँग ५-० को फराकिलो हार ब्होरेको छ ।

पोर्चुगलको अलग्रभ रंगाशालामा सोमबार सम्पन्न खेलमा सेल्टा भिगोलाई जित दिलाउन जोर्गेन लार्सनले ह्याट्रि गर्दा मिगेल रोड्रिग्वेजले र गेल अलोन्सोको नाममा  समान १ गोल रह्यो । 

पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा भने सेल्टा भिगोले गोलको वर्षा गरेको थियो ।

खेलको ५७औं मिनेटमा अलोन्सोको गोल मार्फत सेल्टा भिगोले अग्रता लिएको थियो । ६२औं मिनेटमा लार्सनले टोलीको अग्रता दोब्बर बनाए ।

७०औं मिनेटमा रोड्रिग्वेजले  सेल्टा भिगोका लागि  तेस्रो गोल गरे । ७२ र ७३ औं मिनेटमा लार्सनले गोल गर्दै ह्याट्रिक पूरा गरेपछि  सेल्टा भिगोले ५-० को फराकिलो जित निकाल्यो ।

यसै खेलमार्फत क्रोएसियाका मिडफिल्डर मार्सेलो ब्रोजोभिचले अल नासरका लागि डेब्यू गरेका छन् । ब्रोजोभिच यसै सिजन इटालियन क्लब इन्टर मिलानबाट अल नसार भित्रिएका हुन् ।

ब्रोजोभिभले ५४ मिनेटसम्म मैदानमा बिताए । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले भने पहिलो हाफ मात्र खेलेका थिए ।

अल नासरले अब मैत्रीपूर्ण खेलमा बेन्फिका,पेरिस सेन्ट जर्मन (पिएसजी) र इन्टर मिलानको सामना गर्नेछ ।