सहिद स्मारक ‘ए’ डिभिजन लिग

जावलाखेलमाथि एपिएफको सहज जित

काठमाडौं । विभागीय टोली एपिएफ फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा जावलाखेल युथ क्लबमाथि २-० को सहज जित निकालेको छ ।

जितसँगै २२ खेलमा २९ अंक जोडेको छ एपिएफ सातौं स्थानमा उक्लिएको छ । पराजय ब्यहोरेको जावलाखेल समान खेलबाट ३४ अंकका साथ चौथो स्थानमा कायम छ ।  

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न खेलमा एपिएफलाई जित दिलाउन अर्मान्ड बिडोम र आवास लामिछानेले समान एक गोल गरे ।

खेलको २३ औं मिनेटमा बिडोमको गोलमार्फत एपिएफले अग्रता लिएको थियो । बिडोमले शरन विक्रम बस्नेतको क्रसलाई हेडमार्फत पोस्टको दिशा दिएका थिए ।

पहिलो हाफको इन्जुरीमा आवासले गोल गर्दै एपिएफलाई २-० को जित दिलाए । आवासले युवराज खड्काको प्रहारलाई जावलाखेलका कप्तान सिमान्त थापाले ब्लक गर्दा प्राप्त बललाई जाली चुमाएका थिए ।

८६ औं मिनेटमा एपिएफ र जावलाखेल दुवै टोली १० खेलाडीमा समेटिए ।

मैदान भित्र झगडा गरेपछि रेफ्री प्रकाशनाथ श्रेष्ठले एपिएफका कप्तान नविन लामा र जावलाखेलका अब्दुलाजिज निशोनवेभलाई रातो कार्ड देखाएका थिए ।

  एपिएफ लिगमा जावलाखेलविरुद्ध अपराजित रह्यो । यी दुईबीचको पहिलो भेट गोलरहित बराबरीमा सकिएको थियो ।