जित यात्रा कायम राख्ने लक्ष्यमा नेपाल

काठमाडौं, (खेलाडी)- साफ च्याम्पियनसिप २०२१ अन्तर्गत सोमबार श्रीलंकाको सामना गर्दा नेपाल जित लय कायम राख्ने लक्ष्यमा हुनेछ ।

शुक्रबारबाट सुरु भएको प्रतियोगितामा नेपालले साविक विजेता माल्दिभ्समाथि १-० को जितका साथ प्रतियोगितामा सुखद सुरुआत गरेको थियो ।

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले श्रीलंकाविरुद्ध स्पष्ट तीन अंकका लागि खेल्ने बताए ।

साफ च्याम्पियनसिपमा नेपाल र श्रीलंका अहिले सम्म पाँच पटक आमने सामने भएका छन् । जहाँ श्रीलंका हाबी देखिएको छ । पाँच मध्ये नेपालले मात्र एक खेल जितेको छ भने एक खेल बराबरी खेलेको छ । तीन खेलको नतिजा श्रीलंकाको पक्षमा छ ।

सन् १९९३ जुलाई १९ मा नेपाल र श्रीलंका पहिलो पटक आमने सामने भएका थिए । सो खेल बराबरीमा सकिएको थियो ।

दोस्रो पटक नेपाल र श्रीलंका सन् १९९५ मा साफ च्याम्पियनसिपमै भेटेका थिए । नेपालले सो खेल २-१ ले गुमायो । सन् १९९७ मा पनि श्रीलंकालाई नतिजा सुम्पिएको नेपालले सन् १९९९ को साफ च्याम्पियनसिपमा भने श्रीलंकाविरुद्ध जितको पहिलो स्वाद चाखेको थियो । 

साफ च्याम्पियनसिपमा नेपाल र श्रीलंका पछिल्लो पटक सन् सन् २०१५ मा आमने सामने भएका थिए, जसमा श्रीलंकाले बाजी मारेको थियो ।

यता उद्घाटन खेलमा बंगलादेशलाई १–० को नतिजा सुम्पिएको श्रीलंका नेपालमाथि जितका साथ प्रतियोगितामा अंक खाता खोल्न चाहन्छ ।