इङ्लिस प्रिमियर लिग

टेटनहममाथि न्युक्यासलको फराकिलो जित

काठमाडौं । इङ्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति सम्पन्न खेलमा न्युक्यासल युनाइटेडले टोटनहमाथि ६-१ को फराकिलो जित निकालेको छ ।

यस जितसँगै ३१ खेलमा ५९ अंक जोडेको न्युक्यासल तेस्रो स्थानमा उक्लिएको छ । पराजय ब्यहोरेको टोटेनहम ३२ खेलमा ५३ अंकका साथ पाँचौं स्थानमा छ ।

घरेलु मैदान सेन्ट जेम्स पार्कमा खेलको दोस्रो मिनेटमै जाकोब मुर्फेले गोल गर्दै न्युक्यासललाई अग्रता दिलाएका थिए । त्यसको चार मिनेटपछि नै जोइलिनटनले टोलीको अग्रता दोब्बर बनाए ।

नवौं मिनेटमा जाकोबले व्यक्तिगत दोस्रो गोल गर्दा न्युक्यासल ३-० ले अघि बढ्यो । १९ औं मिनेटमा एलेक्जान्डर इसाकले टोलीका लागि चौथो गोल गरे ।

२१ औं मिनेटमा इसाकले व्यक्तिगत दोस्रो गोल गर्दा पहिलो हाफमै न्युक्यासले ५-० को फराकिलो अग्रता लिएको थियो ।

४९ औं मिनेटमा टोटनहमका ह्यारी केनले गोल गर्दा खेल ५-१ को स्थितीमा आयो । ६७ औं मिनेटमा कलुम विल्सनले गोल गर्दै न्युम्यासललाई ६-१ को फराकिलो जित दिलाए ।

अर्को खेलमा वेस्ट ह्यामले बर्नेमाउथमाथि ४-०को सहज जित निक्लयो  ।