सविन मेमोरियलको राष्ट्रिय फुटसल जित्ने लक्ष्य

पोखरा, (खेलाडी)- पोखरामा जारी पहिलो ‘ए’ डिभिजन लिगमा प्रतिस्पर्धा गरिरहेका १० टोलीमध्येको एक हो पोखराकै स्थानीय क्लब सविन मेमोरियल एफसी । लिगमा क्लब आजको दिनसम्म १० अंकका साथ तालिकाको पाँचौ स्थानमा छ । 

क्लबका संस्थापक सन्तोष पराजुली फुटसल लिग खेल्नकै लागि क्लबको स्थापना भएको र टोलीको उदेश्य लिग उपाधिलाई आफ्नै सहरमा राख्नु भएको बताउछन् । 

‘पोखराकै पुराना क्लबमध्येको एक भए पनि क्लबको औपचारिक दर्ता गत चैतमा मात्र भएको हो । दर्ता हुनुअघि हाम्रो क्लबको नाम बी-फिट थियो,’ पराजुली भन्छन्, ‘यो पोखराको चौथो फुटसल क्लब हो । एन्फा फुटसल ‘ए’ डिभिजन लिग खेल्नकै लागि हामीले क्लब स्थापना गरेका हौं । र प्रतियोगिता पोखरामा भएकाले हामी लिग उपाधि पोखरामै राख्न चाहन्छौं ।’

पराजुलीका अनुसार क्लब स्थापना देखि अहिले लिगको तयारीसम्म १६ लाख रुपैयाँ भन्दा धेरै खर्च भइसकेको छ । उनले क्लबको आवश्यकता अहिले व्यक्तिगत सहयोगमा पूरा भइरहे पनि दीर्घकालका लागि क्लबलाई बलियो प्रायोजकको खाँचो रहेको बताए । 

‘अहिलेसम्म लगभग १६ लाख रुपैयाँ खर्च भएको छ । त्यसमा लगभग ८ लाख रुपैयाँ प्रायकेजकहरुबाट पनि आएको छ’, पराजुली भन्छन्, ‘पहिलो पटक फुटसल लिग भएकाले हामीले व्यक्तिगत सहयोगमा क्लबको आवश्किता पूरा गर्ने प्रयास गरेका छौं । तर एउटा बलियो प्रायोजक नभई दीर्घकालसम्म चल्न सक्दैन । व्यक्तिगत सहयोगको भरमा क्लबलाई निरन्तरता दिन सकिँदैन् ।’

टोलीले अहिलेसम्म राष्ट्रिय ‘ए’ डिभिजन लिगमा ६ खेल खेलेको छ । जसमध्ये तीनमा विजयी हुदाँ एकमा बराबर र दुईमा पराजय बेहोरेको छ । यद्पी पराजुली टोलीले अहिलेसम्म लिगमा गरिरहेको प्रदर्शनबाट सन्तुष्ट छन् । 

‘पहिला खेल्ने मैदानभन्दा लिगको मैदान पूर्णरुपमा फरक हुदाँ खेलाडीहरुले केही अप्ठ्यारो महसुस गरिरहेका छन् । तर पनि हाम्रो टोली सन्तुलित छ । लिगमा हामी अहिले पाँचौ स्थानमा छांंैं । टोलीको प्रदर्शन राम्रो छ’, उनी भन्छन् ।

त्यसो त पराजुली क्लबको उदेश्य फुटसल र फुटबललाई सँगै लैजाने रहेको र त्यसमा पनि क्लबले फुटबलकै ‘ए’ डिभिजन लिग खेल्ने उदेश्य राखेको बताउछन् । 

‘हाम्रो उदेश्य सहिद स्मारक ‘ए’ डिभिजन लिग खेल्ने हो । हामी विस्तारै फुटबल एकेडेमी पनि सञ्चालनमा ल्याउने छौं । फुटसल र फुटबल दुवैलाई एकसाथ अघि बढाउछौं,’ उनले योजना सुनाए ।

फुटसल लिगका लागि क्लबले विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ)का पूर्व प्रशिक्षक राजेन्द्र तामाङलाई अनुबन्ध गरेको छ । 

लिगमा सहभागी सबै क्लबहरुले रेफ्रीको निर्णयप्रति आक्रोश व्यक्त गरिरहदाँ पराजुली पनि रेफ्रिहरुमा अनुभवको कमी भएको गुनासो गर्छन् । 

‘सायद फुटसलमा पहिलो पटक लिग भएको कारण होला, रेफ्रीहरुमा अनुभव र तालिमको कमी देखिएको छ’, उनी भन्छन्, ‘तर हाम्रो टिमले खेल्दा त्यस्तो ठूलो गल्ति हामीले भेट्टाएका छैनौं ।’

पराजुलीले लिगका लागी सन्तुलित टोलीको निर्माण गर्नु चुनौतीपूर्ण रहे पनि आफूहरुले स्थानीय खेलाडीलाई समेटेको बताए । 

उनी भन्छन्, ‘हामीले मोफसलमै रहेका खेलाडीहरुलाई लिएर टोली बनायौं । अझ त्यसमा पनि हामीले पोखराका स्थाीनय खेलाडी समेटेका छौं । टिम अहिलेसम्म राम्रो छ । तर अर्को लिगसम्म अन्य खेलाडीहरुलाई भित्रयाउने छौं । यहि लिगका १० टोलीबाट पनि हामीले खेलाडीलाई भित्रयााउन सक्छौं ।’


 
लिगमा टोलीबाट उत्कृष्ट प्रदर्शन गरिरहेका अविनाश तामाङ र मनोज गुरुङले राष्ट्रिय टोलीमा स्थान बनाउन सक्ने बलियो सम्भावना रहेको बताउछन् पराजुली । अहिले सम्म १२ गोल गरेका अभिनाश लिगका उच्च गोलकर्ता समेत हुन् । 

‘लिगमा हाम्रो क्लबका अभिनाश र मनोजले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । अभिनाश लिगको टप स्कोरर पनि हुन् । त्यस्तै मनोजको प्रदर्शन पनि निकै राम्रो छ । यी दुई खेलाडीले चाहीँ राष्ट्रिय टोलीमा स्थान बनाउछन् भन्ने विश्वास लिएका छौं,’ पराजुलीले थपे ।

लुकेका प्रतिभालाई उजागर गर्दै नयाँ खेलाडी उत्पादनमा लिगको ठूलो भूमिका हुने कारण लिग निरन्तर आयोजना हुनुपर्ने पराजुलीको जोड छ ।