लियोनको लगातार दोस्रो जित, प्रागले हरायो रेन्जर्सलाई

लियोन, (खेलाडी)- फ्रान्सेली लिग वानको टोली लियोनले युरोपा लिगमा लगातार जित हासिल गर्ने क्रममा समूह ‘ए’को खेलमा बिहीबार राति ब्रोन्डबी आइएफमाथि ३-० को नतिजा निकालेको छ ।

युरोपा लिग समूह चरणको पहिलो खेलमा दुई साताअघि रेन्जर्सलाई २-० को नतिजामा हराएको लियोनले बिहीबार डेनिस टोलीमाथि घरेलु मैदानमा कार्ल टोको इकाम्बी र होसिम औआरको गोलमा जित हासिल गरेको थियो । 

समूहको अर्को खेलमा चेक गणतन्त्रको स्पार्टा प्रागले स्कटिस टोली रेन्जर्सलाई १-० ले हरायो । प्रागलाई घरेलु मैदानमा जित दिलाउन डेविड हांकोले गोल गरेका थिए । 

समूह चरणका दुई खेल सकिँदासम्म विजयी यात्रालाई निरन्तरता दिएको लियोन ६ अंकका साथ शीर्ष स्थानमा छ । अघिल्लो खेलमा ब्रोन्डबी आइएफसँग गोलरहित बराबरी खेलेको प्राग चार अंकका साथ दोस्रो स्थानमा छ । एक अंक जोडेको ब्रोन्डबी तेस्रो स्थानमा रहँदा अंकको खाता खोल्न नसकेको रेन्जर्स पुछारमा छ । 

युरोपेली क्लब फुटबलमा दोस्रो दर्जाको प्रतियोगिता युरोपा लिगअन्तर्गत बिहीबारै समूह ‘बी’मा पिएसभी आइन्डहोभनले स्टर्म ग्राजमाथि ४-१ को जित हासिल गर्दा रियाल सोसिडाडले मोनाकोसँग १-१ को बराबरी नतिजा निकाल्यो । 

दुई खेलमा समान चार अंक जोडेका आइन्डहोभन र मोनाको क्रमषः पहिलो र दोस्रो स्थानमा रहँदा दुई अंक जोडेको रियाल सोसिडाड तेस्रो स्थानमा छ भने स्टर्म ग्राजले अंकको खाता खोल्न सकेको छैन ।