ओलिम्पिक छनोट

ओलम्पिक छनोटमा नेपालले भियतनामसँग मात्र खेल्ने

काठमाडौं । अन्तिम समयमा अफगानिस्तानले नाम फिर्ता लिएपछि नेपाली महिला राष्ट्रिय फुटबल टोलीले पेरिस ओलिम्पिक २०२४ को एसियाली छनोटमा भियतनामसँग मात्र खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ(एन्फा) ले साेमबार पत्रकार सम्मेलन गर्दै नेपालले भियतनामसँग दुई खेल खेल्ने जानकारी दिएको हो ।

पहिलो खेल चैत २२ र दोस्रो खेल चैत २५ मा हुनेछ । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजेपछि हुनेछ ।

समूह ‘सी’मा रहेको नेपालले यसअघि घरेलु भूमीमा भियतनामसँगै अफगानिस्तान र प्यालेस्टाइनसँग खेल्ने तालिका थियो । अफगानिस्तानअघि प्यालेस्टाइनले पनि आफ्नाे नाम फिर्ता लिएको थियो ।

भियतनामको टोली प्रतियोगिता सुरु हुनुभन्दा दुई दिनअघि भदौ २० गते नेपाल आइपुग्नेछ ।

प्रतियोगिताका लागि एन्फाले एमडीएसी स्पोर्ट्स प्रालिसँग मार्केटिङ र ब्रोडकास्टिङ अधिकारको लागि सम्झौता गरिसकेको बताएको छ । त्यस्तै एन्फाले टिकट दर साधारण पाराफिटतर्फ तीन सय र भिआइपी पाराफिटतर्फ एक हजार रुपैयाँ  तोकिएको जानकारी गराएको छ । खेलका टिकटहरु खल्ती एपबाट वा रंगशालामा रहेको खल्तीका स्टलहरुबाट पनि किन्न सकिनेछ ।

प्रतियोगिताको अनुमानित बजेट करिब ४३ लाख रहनेएन्फाले जनाएको छ ।

प्रतियोगिताको शीर्ष स्थानमा रहने टोलीले दोस्रो चरणमा स्थान बनाउनेछ । पहिलो चरणमा कुल २६ एसियाली राष्ट्रलाई सात समूहमा विभाजन गरिएको छ । जसमध्ये तीन राष्ट्रले नाम फिर्ता लिएका छन् । नाम फिर्ता लिने अर्को टोली श्रीलंका रहेको छ ।

फिफा वरियताका आधारमा उत्तर कोरिया, दक्षिण कोरिया, जापान, अस्ट्रेलिया र चीनले यसअघि नै दोस्रो चरणमा स्थान बनाइसकेका छन् ।

कुल १२ देशको सहभागिता रहने पेरिस ओलम्पिकको महिला फुटबलमा एसियाबाट शीर्ष दुई टोलीले स्थान बनाउनेछन् ।

नेपालको प्रारम्भिक टोली 

एन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ, विमला विक, सपना राई, अमृता जैसी, हिराकुमारी भुजेल, निशा थोकर, समीक्षा घिमिरे, प्रीति राई, अनिता बस्नेत, , विमला चौधरी, दिपा शाही,अनिता केसी सरु लिम्बु, विमला चौधरी, सविता राना मगर, निर्मला विक, सावित्रा भण्डारी, अमिषा कार्की, रश्मीकुमारी घिसिङ, रेखा पौडेल, रजनी थोकर, पूजा राना, दीपा न्यौपाने, सरस्वती ऐयर, सरस्वती हमाल, अन्चली वाइबा, सिर्जना चेम्जोङ, गंगा गुरुङ, मन्जलीकुमारी योन्जन, चन्द्रा भण्डारी, प्रतिक्षा चौधरी, मेनुका आले मगर, सारा बज्राचार्य