काठमाडौं । कप्तान मोहम्मद वसिमको र आयन खान उत्कृष्ट ब्याटिङप्रेरित युएईले आइसिसी पुरुष विश्वकप छनोट अन्तर्गत प्ले अफको आफ्नो पहिलो खेलमा पपुवा न्युगिनी ( पिएनजी) सामू दुई सय ६१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
नामिबियाको विन्डहोकस्थित वान्डरर्स क्रिकेट मैदान टस हारेर ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै दुई सय ६० रनको योगफल तयार पारेको थियो ।
युएईका लागि वसिमले एक सय ६ बलमा ६ छक्का र पाँच चौकाको मद्दतमा सर्वाधिक ९६ रन बनाए । यसैगरी खानले ९४ बलमा नौ चौका र तीन छक्काको मद्दतमा अविजि ९४, कार्तिक मैयप्पनले २४ र रोहन मुस्ताफाले १३ रनज जोडे ।
खानले छैटौं विकेटका लागि वसिमसँग ८० तथा सातौं विकेटका लागि मैयप्पनसँग ९० रनको साझेदारी गरे ।
पिएनजीका लागि चाड सोपरले चार, सिमो कामियाले दुई तथा नोर्मन भानुआले एक विकेट लिए ।
प्लेअफमा आइसिसी विश्वकप क्रिकेट लिग टुका का पुछारका चार टोली अमेरिका निमिबिया, युएई र पपुवा न्युगिनी (पिएनजी) सँगै आइसिसी विश्वकप च्यालेन्ज लिग ‘ए’ को विजेता क्यानाडा र ‘बी’ को विजेता जर्सी सहभागी छन् ।
राउन्ड रोविन पद्धतीमा हुने प्रतियोगितामा शीर्ष दुई टोलीले जिम्बावेमा हुने विश्वकप छनोट खेल्न पाउनेछन् । विश्वकप छनोटमा यी दुईसँगै सुपर लिगको पुछारका पाँच र लिग टुको शीर्ष तीन टोली टोली हुनेछन् ।
हालसम्म सुपर लिगबाट नेदरल्यान्ड्स तथा जिम्बावे तथा लिग टुबाट स्कटल्यान्ड, ओमान र नेपालले विश्वकप छनोट खेल्ने पक्का भइसकेको छ ।