सहिद स्मारक ‘ए’ डिभिजन लिग

योजना अनुसारको प्रदर्शन हुन सकेनः प्रशिक्षक श्रेष्ठ

फाइल तस्बिर

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७९ मा पहिलो जित  निकाले पनि हिमालयन शेर्पा क्लबका प्रशिक्षक सुमन श्रेष्ठले खेलाडीले टोलीको योजना अनुसार खेल्न नसकेको प्रतिक्रिया दिएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न खेलमा हिमालयन शेर्पाले विभागीय टोली नेपाल पुलिस क्लबलाई १-० ले हराएको थियो । हिमालयन शेर्पालाई जित दिलाउन खेलको इन्जुरी समयमा अमृत श्रेष्ठले निर्णायक गोल गरेका थिए ।

‘हामीले जित निकाल्यो यसमा खुसी छु, तर खेलाडीले योजना अनुसार खेल्न सकेनन्,’ श्रेष्ठले भने,‘धेरै मौका पाएको भए पनि त्यसलाई सदुपयोग गर्न सकेनौं । आशा छ अगामी खेलमा उत्कृष्ट प्रदर्शन हुनेछ । ’

यो जितसँगै  हिमालयन शेर्पा क्लबले दुई खेलमा चार अंक जोड्दा लगातार दोस्रो पराजय ब्यहोरेको पुलिस अंकविहिन छ ।

पहिलो खेलमा हिमालयन शेर्पाले मानङ मर्स्याङदी क्लबसँग १-१ को बराबरी खेल्दा पुलिसले चर्च व्बाइज युनाइटेसँग २-१ को पराजय ब्यहोरेको थियो ।