सहिद स्मारक ‘ए’ डिभिजन लिग

मनाङले संकटालाई हरायो

काठमाडौं । संकटा क्लबलाई १-० ले पराजित गर्दै मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ।

यस जितसँगै मनाङले दुई खेलमा चार अंक जोड्दा पहिलो पराजय ब्यहोरेको संकटाको समान खेलबाट एक अंक छ । पहिलो खेलमा मनाङले हिमालयन शेर्पासँग १-१ तथा संकटाले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबसँग गोलरहित बरारबी खेलेका थिए । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मनाङलाई जित दिलाउन उज्वेकिस्तानका विंगर सेदजामोल दाभ्लातजोनोभले निर्णायक गोल गरे ।

 ५३ औं मिनेटमा दाभ्लातजोनोभले बायाँ विंगबाट गरेको प्रहार संकटाका गोलकिपर टिकेन्द्र सिंह थापाले पन्च गर्दै बचाउने प्रयास गरे पनि डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो ।

 दुवै टोलीले पाएका केही अवसरलाई भने सदुपयोग गर्न सकेनन् ।

१९ औं मिनेटमा  फरवार्ड मनिष डाँगीको प्रहार गोलकिपर दिप कार्कीले राम्रोसँग क्लियर गर्न सकेनन् । त्यही रिबाउण्डमा सुनिल श्रेष्ठको प्रहारलाई प्रवेश कुँवरले गोललाईनबाट क्लियर गर्दा संकटा अग्रता लिनबाट चुकेको थियो ।

५३ औं मिनेटमा सुमित श्रेष्ठको प्रहार संकटाका गोलकिपर टिकेन्द्रले पन्च गर्दै बचाए ।

६९ औं मिनेटमा मनाङका सुमितको प्रहार पोष्ट माथिबाट बाहिरँदा मनाङले अग्रता दोब्बर बनाउने अवसर गुमायो।

 इन्जुरी समयमा चन्दन कुमारदासको प्रहारले पोस्टको दिशा लिन नसक्दा संकटका हार ब्यहोर्न बाध्य बन्यो ।