सातदोबाटोको लगातार दोस्रो जित

काठमाडौं । विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबलाई १-० ले पराजित गर्दै सातादोबाटो युवा क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७९ मा लगातार दोस्रो जित निकालेको छ ।

यस जितसँगै सातदोबाटोले दुई खेलमा ६ अंक जोड्दा पहिलो पराजय ब्यहोरेको एपिएफको समान खेलबाट तीन अंक छ । पहिलो खेलमा एपिएफले थ्री स्टारलाई २-० तथा सातदोबाटोले  न्युरोड टिम (एनआरटी) लाई २-१ हराएका थिए ।

च्यासल रंगशालामा बुधबार सम्पन्न खेलमा विलियम ओपोकु असियदुले गरेको एक मात्र गोल सातदोबाटोको जितमा निर्णायक बन्यो । आसियदुले खेलको ५५ औं मिनेटमा मैदानको मध्य भागबाट उत्कृष्ट गोल गरेका थिए ।

त्यसअघि दुवै टोलीले पाएका केही अवसरलाई भने सदुपयोग गर्न सकेनन् ।

१९ औं मिनेटमा एपिएफका हरि कार्कीको फितलो प्रहार सातदोबाटो गोलकिपर अभिषेक बरालले बचाएका थिए । त्यसको एक मिनेटपछि कप्तान नवीन लामाको प्रहार बाहिरियो । पहिलो हाफको इन्जुरी समयमा सातदोबाटोका इभान मेरिकको हेडर गोल पोस्टमा लागेर बाहिरिएको थियो ।