शहिद स्मारक ए डिभिजन लिग

अमृतको निर्णायक गोलमा हिमालयन शेर्पा विजयी

काठमाडौं । इन्जुरी समयमा अमृत श्रेष्ठले निर्णायक गोल गरेपछि हिमालयन शेर्पा क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७९–८० पहिलो जित निकालेको छ । । बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ९ मिनेट थपिएको इन्जुरी समयमा अमृतले विजयी गोल गरेका थिए ।

जितसँगै हिमालयन शेर्पाले चार अंक जोडेको छ । पुलिस लगातार दोस्रो खेलमा पराजित भयो । पहिलो खेलमा हिमालयन शेर्पा मनाङ मस्र्याङ्दी क्लबसँग १–१ गोलको बराबरीमा रोकिएको थियो ।

पुलिस भने नवप्रवेशी क्लब चर्च ब्वाइज युनाइटेडसँग २–१ ले पराजित भएको थियो । पहिलो गोल बेहोरेको चर्च ब्वाइजले पुनरागमन जित निकालेको हो ।

लिगको आफ्नो दोस्रो खेलमा दुबै टोलीले गोलका केहि अवसर सृजना गरेपनि थप गोल गर्न सकेनन् । खेलको ३२औं मिनेटमा हिमालयन शेर्पाले पाएको पेनाल्टी सदुपयोग गर्न सकेन । पुलिसका रक्षक अजित भण्डारीले विदेशी खेलाडी अबायोमी ओलुवासेउन फाकुन्ललाई बक्सभित्र लडाएपछि हिमालयन शेर्पाले पेनाल्टी पाएको थियो । तर, निशान लिम्बूको प्रहार गोलकिपर शत्रुघन चौधरीले बचाए ।

शेर्पाका निशालसँगै पिस्टोन भुन्योली मुतम्बाले अवसर खेर फ्याले । पुलिसविरुद्ध हिमोलयन शेर्पाले तीन विदेशी खेलाडीलाई मैदान उत्रारेको थियो । पुलिसका रवि पासवान, भरत शाह र सन्तोष हेमरुनले पाएको अवसर सदुपयोग गर्न सकेनन् ।

खेलको ७१औं मिनेटमा पुलिसका वैकल्पिक स्ट्राइकर सन्देश विकसँग जुध्दा हिमालयन शेर्पाका गोलकिपर किशोर गिरी घाइते हुँदै मैदान छाडेका थिए । खेलको इन्जुरी समयमा बक्सभित्रबाट म्यान अफ दि म्याच अमृतले हानेको प्रहार दोस्रो बारमा सिधै जाली चुमेको थियो । अमृतले नगद १० हजार प्राप्त गरे । 

सिजन २०७८ मा पुलिस र हिमालयन शेर्पाले १–१ गोलको बराबरी खेलेका थिए ।  

एकै समयमा भएको खेलमा सातदोबाटो युथ क्लबले एपिएफ फुटबल क्लबलाई १–० ले पराजित गर्याे । आज नै हुने तेस्रो खेलमा मनाङ र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।