केपी ओली कप

केपी ओली कपः आयोजक केपी ओली एफसी सेमिफाइनलमा

काठमाडौं । जावलाखेल युथ क्लबलाई पेनाल्टी सुटआउटमा ५-४ ले पराजित गर्दै आयोजक केपी ओली एफसी केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको सेमिफाइनल प्रवेश गरेको छ ।

सातदोबाटस्थित एन्फा कम्प्लेक्समा निर्धारित ९० मिनेटमा १-१ को बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिएको थियो । जसमा आयोजक टोली सफल भयो ।

पेनाल्टीमा केपी ओली एफसीका विक्रम लामा, आदित्य शाक्य, अशोक खवास, लकेन लिम्बु, र अनिल महर्जनले गोल गरे ।

जवालाखेलका सिमान्त थापा, समिराज थोकर, फोडे फोफाना र अब्दुलाजिज निशोनबोइभले गोल गर्दा एनकोटो स्यानोउस मासोआबीको पेनाल्टी प्रहारलाई केपी ओली एफसीका गोलकिपर पूर्ण चेम्जोङले बचाएका थिए ।  

यसअघि खेलको ४३ औं मिनेटमा राहुलले गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए । ६९ औं मिनेटमा अजयी मार्टिन्सले गोल गर्दै केपी ओली एफसीलाई १-१ को बराबरीमा ल्याएका थिए ।

यससँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पनि पूरा भएको छ । अब केफी ओली एफसीले फागुन १४ मा हुने दोस्रो सेमिफाइनलमा लिग विजेता मछिन्द्र फुटबल क्लबको सामना गर्नेछ ।

मछिन्द्र चर्च ब्वाइज युनाईटेडलाई २-१ ले पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो ।

यसैगरी फागुन १४ गते हुने पहिलो सेमिफाइनलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले सातादोबाटो युथ क्लबको सामना गर्नेछ ।

आर्मीले न्युरोड टिम (एनआरटी)लाई पेनाल्टी सुटआउटमा ५-४ तथा सातदोबाटले विभागीय टोली नेपाल पुलिस क्लबलाई २-१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका थिए ।