युइएफए युरोपा लिग

डि योङबाट स्तरीय प्रदर्शनको आशमा बार्सिलोना

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले युरोपियन फुटबल महासंघ (युइएफए) युरोपा लिगअन्तर्गत अन्तिम ३२ को दोस्रो लेगमा बिहिबार राति इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडको सामना गर्दैछ ।

युनाइटेडको मैदान ओल्ट्राफोर्डमा हुने खेलका लागि बार्सिलोना २३ सदस्यीय टोली लिएर इङ्ल्यान्ड पुगिसकेको छ । टोलीमा युवा मिडफिल्डरहरु पेड्री र गाबी भने छैनन् ।

गत साता बार्सिलोनाको मैदान क्याम्प नोउमा भएको पहिलो लेगमा पेड्री घाइते हुन पुगेका थिए । त्यस्तै लगातार दुई खेलमा पहेँलो ब्यहोरेका कारण गाबी दोस्रो लेगका लागि निलम्बित भएका हुन् ।

यस्तोमा बार्सिलोनाले डच मिडफिल्डर फ्रान्की डि योङमाथि ठूलो आश राखेको छ । युनाइटेडलाई उसकै मैदानमा पराजित गर्ने हो भने बार्सिलोनालाई मिडफिल्डमा डि योङको स्तरीय प्रदर्शनको आवश्यकता छ ।

प्रशिक्षक इरिक टेन हागको नेतृत्वमा चार सिजन अगाडी आयाक्सले सेमिफाइनलसम्मको यात्रा गरेको थियो । त्यतिबेला डि योङ टेन हागका मुख्य हतियार मध्येका एक  थिए । बिहिबार उनै टेन हागको प्रशिक्षणमा रहेको युनाइटेडको घरेलु मैदानमा बार्सिलोनाका लागि डि योङको भुमिका महत्वपूर्ण रहनेछ ।

बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको पहिलो लेग २-२ को बराबरीमा सकिएको थियो ।