चेल्सी

चेल्सीको समस्या म होइनः पोर्टर

काठमाडौं । इङ्लिस प्रिमियर लिगको क्लब चेल्सीका प्रशिक्षक ग्राहम पोर्टरले आफु क्लबको खराब प्रदर्शनको कारण नभएको बताएका छन् ।

शनिबार इङ्लिस प्रिमियर लिगमा चेल्सीले घरेलु मैदानमा अंक तालिकाको पुछारमा रहेको साउथह्याम्टनसँग १-० को पराजय ब्यहोरेसँगै प्रशिक्षक पोर्टरमाथि दबाब बढेको छ ।

केही दिन अगाडी मात्र युइएफए च्याम्पियन्स लिगमा चेल्सीले बाेरुसिया डर्टमन्डसँग १-० कै हार बेहोरेको थियो । 
 

लगातार दुई खेलमा पराजय बेहोरेपछि स्टामफर्ड ब्रिजमा खेल सकिने बित्तिकै समर्थकले खेलाडीलाई अपशब्द बोल्दै गाली गरेका थिए । ब्राइटनका पूर्व प्रशिक्षक पोर्टर असहाय रुपमा खेलाडीलाई गाली गरेको हेरिरहेका थिए ।

हारसँगै चेल्सी १० औं स्थानमा झरेको छ । चेल्सीको २३ खेलबाट ३१ अंक छ । यस्तै चेल्सी प्रिमियर लिगमा पछिल्लो चार खेलमा जितविहन छ ।

‘मलाई थाहा छ सबैले मलाई नै गलत देखिरहेका छन् । तर उनीहरु गलत छन् । मैले यो कुरा अहंकारी भएर भनेको होइन । घरेलु मैदानमा पराजय ब्यहोर्दा आलोचना आउनु स्वभाविक हो,’ पोर्टरले भने, ‘मलाई लाग्छ हाम्रो अहिले कठिन समय चलिरहेको छ । युवा खेलाडीलाई एकिकृत गर्दै लैजानु एकदमै चुनौतीको विषय हो । यो कुरा सबैले बुझ्नु पर्छ ।’

अमेरिकी ब्यापारी टड बोहेलीले चेल्सी किनेयता क्लबले  खेलाडी अनुबन्धमा पाँच सय ५३ मिलियन पाउन्ड खर्च गरिसकेको छ । त्यसैले पनि पोर्टरमाथि दबाब बढेको हो । चेल्सीले जनवरी ट्रान्सफरमा मात्र खेलाडी अनुबन्धका लागि तीन सय मिलियन पाउन्ड खर्च गरेको थियो ।