स्पेनिस ला लिगा

ला लिगा उपाधिका लागि बार्सिलोनालाई अझै चुनौती दिन्छौः कामाभिंगा

मड्रिड । इडोवार्डो कामाभिगांले रियाल मड्रिडले अन्तिम सम्म पनि स्पेनिस ला लिगाको उपाधि रक्षाका लागि लड्ने बताएका छन ।

रियालले ला लिगामा बुधबार इल्चेमाथि ४–० को सहज जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दुरी ८ अंकमा झारेको थियो ।

लिगमा १७ खेल बाँकी रहँदा रियालले पछिल्लो नौ खेलमध्ये चार खेलमा अंक घुमाएको छ । बार्सिलोनाले भने लगातार ६ खेल जितेको छ ।

रियालसँग अक्टोबर १६ मा एल क्लासिकोमा ३–१ ले पराजित भएपछि बार्सिलोना अपराजित रहँदै आएको छ ।

‘यो क्लबमा केही पनि असम्भव छैन’,कामाभिंगाले भने, ‘हामीले गत वर्ष पुनरागमन जितपछि नै च्याम्पियन्स लिग जितेका थियौ । हामी यस पटक ला लिगामा पनि पुनरागमन गर्दै उपाधि रक्षा गर्नेमा आशाबादी छौ । ’

रियालले शनिबार अल हिलाललाई हराउँदै पाँचौ पटक क्लब विश्वकपको उपाधि जितेको थियो ।