आइसिसी महिला यु-१९ टी २० विश्वकप

इङ्ल्यान्डले आयरल्यान्डलाई हरायो

काठमाडौं । इङ्ल्यान्डले आइसिसी महिला यु-१९ टी २० विश्वकप अन्तर्गत सुपर सिक्समा विजयी सुरुआत गरेको छ  ।

इङ्ल्यान्डले सुपर सिक्सको समूह दुई अन्तर्गत सिनवेस पार्कमा शनिबार सम्पन्न खेलमा आयरल्यान्डमाथि एक सय २१ रनको फारकिलो जित निकालेको हो ।

यसजितसँगै इङ्ल्यान्डले दुई अंक जोड्दा आयरल्यान्डले हारबाट सुपर सिक्सको सुरुआत गरेको छ । इङ्ल्यान्ड समूह ‘बी’को शीर्ष तथा आयरल्यान्ड समूह ‘सी’ को तेस्रो स्थानमा रहँदै सुपर सिक्समा प्रवेश गरेका थिए ।

इङ्ल्यान्डले प्रस्तुत गरेको दुई सय आठ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड १६.५ ओभरमा ८६ रनमै समेटियो । आयरल्यान्डका लागि एबी ह्यारिसनले १६, एमी मग्वायरले १४ र कप्तान सिउइन उड्सले १३ रन जोडे ।

इङ्ल्यान्डका लागि सोफिया स्मेली र हान्ना ब्रेकरले समान तीन तथा कप्तान ग्रेस स्क्रिभेन्स र रायना म्याकडोनाल्डले समान उक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको इङ्ल्यान्डले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै दुई सय सात रनको योगफल तयार पारेको थियो ।

इङ्ल्यान्डका लागि ग्रेस स्क्रिभेन्सले ५६ बलमा १५ चौका र दुई छक्का मद्दतमा सर्वाधिक ९३ रन जोडिन् । यसैगरी लिबर्टी हेपले ४२ तथा अविजित रहेका नियाम हल्यान्डले ३४ र सिरेन स्मेलीले ३० रन बनाए ।

पहिलो विकेटका लागि ग्रेस र लिबर्टीले एक सय ३६ रनको साझेदारी गरेका थिए । आयरल्यान्डका लागि फ्रिया सर्जेन्ट र एमी मग्वायरले समान एक विकेट लिए ।

यसैगरी यही समूहको शनिबार नै सम्पन्न खेलमा न्युजिल्यान्डले रुवान्डालाई चार विकेटले हराउँदै विजयी सुरुआत गरेको छ ।