प्रधानमन्त्री कप महिला टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिता

सुदूरपश्चिम च्याम्पियन

काठमाडाैं । प्रदेश एकलाई पराजित गर्दै सुदूरपश्चिम प्रदेश  प्रधानमन्त्री कप महिला टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिताको  च्याम्पियन बनेको छ । 

सुदूपश्चिमले इटहरीस्थित जनता क्रिकेट पार्कमा शनिबार सम्पन्न फाइनल खेलमा ६ विकेटको जित निकालेको हो ।

पहिलोपटक च्याम्पियन बनेको सुदूरपश्चिमले उपाधिसहित पाँच लाख रुपैयाँ प्राप्त गर्दा उपविजेता प्रदेश एकले तीन लाख रुपैयाँ पाएको छ ।

प्रदेश एक ले प्रस्तु गरेको एक सय दुई रनको लक्ष्य सुदूरपश्चिमले एक बल बाँकी छँदा चार विकेट गुमाउँदै भेट्टायो । सुदूरपश्चिमका लागि सम्झना खड्काले अविजित २७, डोली भट्टले २२, कविता जोशीले अविजित १९ र  कविता कुँवरले १२ रन जोडे ।

प्रदेश एकका लागि सबनम राई, कप्तान रुबिना क्षेत्री, संगिता राई र हिरनमायी रोयले समान एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ राजेको प्रदेश एकले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय एक रनको योगफल तयार पारेको थियो ।

प्रदेश एकका लागि काजल श्रेष्ठले ६३ बलमा आठ चौका मद्दतमा अविजित रहँदै सर्वाधिक ४८ रनको योगदान दिइन् ।  यसैगरी अप्सरी बेगमले १५ र कप्तान रुबिना क्षेत्रीले १४ रन जोडे ।

सुदूरपश्चिमका लागि मनिषा चौधरीले दुई तथा ऋतु कनोजियाले एक विकेट लिए ।

प्रदेश एकले दोस्रो सेमिफाइनलमा साबिकको विजेता नेपाल एपीएफ क्लबलाई आठ विकेट तथा सुदूरपश्चिमले पहिलो सेमिफाइनलमा मधेश प्रदेशलाई एक सय ८१ रनले हराएर फाइनलमा स्थान बनाएका थिए ।

प्रतियोगितामा सात प्रदेश र एक विभागीय गरी आठ टोलीको सहभागिता थियो ।