नवौं राष्ट्रिय खेलकुद

पुलिससामु लुम्बिनी निरिह

पोखरा । इश्वरी विष्टको चार विकेटप्रेरित नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत समूह बी को अन्तिम खेलमा लुम्बिनी प्रदेशमाथि ९७ रनको जित निकालेको छ । 

पुलिससँगको हारका बाबजुद लुम्बिनी समूह बी को उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गर्यो ।

समूह बी बाट पुलिस यसअघि नै सेमिफाइन्लमा प्रवेश गरिसकेको थियो । शीर्ष स्थानको पुलिसको तीन खेलमा ६ अंक छ भने दोस्रो स्थानको लुम्बिनीको तीन खेलमा तीन अंक छ । तेस्रो स्थानको प्रदेश एकको दुई खेलमा एक अंक छ भने चौथो स्थानको कर्णालीले अंक खाता खोल्न सकेको छैन । 

शुक्रबार पोखरा क्रिकेट रंगशालामा पुलिसले प्रस्तुत गरेको एक सय १३ रनको लक्ष्य पछ्याएको लुम्बिनी १२.५ ओभरमा मात्र १५ रनमा सीमित भयो । लुम्बिनीका कुनै पनि ब्याटरले दोहोरो अंकमा स्कोर गर्न सकेनन् । 

पुलिसका लागि इश्वरीले चार,हिरनमई रोय र कप्तान रुबिना क्षेत्रीले समान दुई तथा सबनम राईले एक विकेट लिइन ।

यसअघि टस जितेर ब्याटिङका लागि आएको पुलिसले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै एक सय १२ रनको योगफल तयार पारेको थियो । पुलिसका लागि कविता जोशीले अविजित ४८ रनको योगदान गरिन् । उनले २९ बलमा ७ चौका  र एक छक्का प्रहार गरिन् ।

त्यस्तै सम्झना खड्का २९ रन र अप्सरी वेगम १० रनको योगदान गरे । लुम्बिनीको बलिङमा सुस्मिता भुसाल र मनिसा रानाले समान २ विकेट लिए । यस्तै, कमला जिएमले एक विकेट लिइन् ।

समूह बी को अन्तिम खेलमा प्रदेश एक र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा भैरहेको छ ।