नेपाली क्रिकेट

आसिफको अर्धसतक, जित उन्मुख नेपाल

फाइल फोटो

एडिनबर्ग । आइसिसी विश्वकप क्रिकेट लिग २ (सिडब्लुसी) अन्तर्गत जारी त्रिदेशीय शृंखलाको दोस्रो खेलमा घरेलु टिम स्कटल्यान्डविरुद्ध नेपालका ओपनर ब्याटर आसिफ शेखले अर्धसतक प्रहार गरेका छन् ।

ग्लास्गोस्थित टिटउड क्रिकेट मैदानमा घरेलु टिमले प्रस्तुत गरेको एक सय ४५ रनको लक्ष्य पछ्याइरहेको नेपालका लागि आसिफले ४९ बलमा ५० रन पूरा गरे । यसक्रममा उनले आठ चौका र एक छक्का प्रहार गरे । ५४ रनमा खेलिरहेका आसिफले छक्का प्रहार गर्दै अर्धसतक पूरा गरेका थिए । एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा आसिफको यो चौथो अर्धसतक हो ।

आसिफलाई अहिले मैदानमा १६ बलमा १५ रन बनाएका रोहित पौडेलले साथ दिइरहेका छन् ।

यसअघि नेपालका अर्का ओपनर कुशल भुर्तेल २७ रनमा आउट हुँदा देव खनाल चार रनमा पभेलियन फर्किएका थिए ।

आसिफको अर्धसतकसँगै जिततर्फ अग्रसर नेपालले हाल १८ ओभरको खेल सकिँदा दुई विकेट गुमाएर एक सय ६ रन बनाएको छ ।

सिडब्लुसीअन्तर्गत त्रिदेशीय शृंखलाका लागि स्कटल्यान्ड पुगेको नेपाल पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो ।

तालिकामा १७ खेल खेलेर १५ अंक जोडेको नेपाल छैटौं स्थानमा छ । नेपालले लिग २ मा अझै १९ खेल्न बाँकी छ । यसक्रममा नेपालले ७ खेलमा जित निकाल्दा एक खेल ‘टाइ’ र नौ खेलमा पराजय बेहोरेको थियो ।