क्यान

कुनै पनि लिगलाई मान्यता नदिने क्यानको निर्णय

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आफ्नै आधिकारिक लिग सञ्चालन गर्ने भएसँगै अन्य कुनै पनि लिगलाई मान्यता नदिने निर्णय गरेको छ ।

क्यानको मंगलबार बसेको बैठकले ‘नेपालमा हालसम्म सञ्चालनमा रहेका अन्य फ्रेन्चाइज्ड लिगहरूले नेपाली क्रिकेटमा पुर्याएको योगदानको कदरसहित धन्यवाद ज्ञापन गर्ने र संघको आफ्नै आधिकारिक लिग सञ्चालन हुने भएकाले अन्य कुनै पनि लिगहरूलाई राष्ट्रिय मान्यता प्राप्त लिगको रूपमा मान्यता नदिने तर क्षेत्रीय लिगको संरचनामा सञ्चालन गर्ने अवस्थामा अनुमति दिन सकिने निर्णय’ गरेको छ ।

क्यानले नेपाल टी २० लिगको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले अन्य कुनै पनि फ्रेन्चाइज लिगले मान्यता नपाउने बताएका थिए । त्यसपछि लामो समयदेखि आयोजना हुँदै आएको एभरेष्ट प्रिमियर लिग (इपिएल)का सञ्चालक र क्लबहरूले संयुक्तरूपमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको अस्तित्व समाम्प्त नपार्न आग्रह गरेका थिए ।

इपिएलले मान्यता नपाए क्यानले गर्ने कुनै पनि क्रिकेट सम्बन्धी गतिविधिमा लगानी नगर्ने चेतावनी दिएको थियो ।