क्यान

क्यानको कार्यसमिति बैठक बस्दै: नेपाल टी २० र इपिएलबारे छलफल हुने

काठमाडौं । फ्रेन्चाइज लिगहरुको विवाद चरमोत्कर्षमा पुगेका बेला नेपाली क्रिकेटको सर्वोच्च निकाय नेपाल क्रिकेट संघ (क्यान) को कार्यसमिति बैठक बस्दैछ ।

नेपाल टी २० लिग आयोजना अधिकार भारतीय कम्पनीलाई दिएपछि आयोजना अधिकार दिएको विषयमा क्यानको व्यापक आलोचना भएको थियो । लगत्तै हिजो सोमबार एभरेष्ट प्रिमियर लिग (इपिएल)ले पनि पत्रकार सम्मेलन गर्दै आफ्नो चासो सार्वजनिक गरेको थियो ।

पछिल्ला वर्षहरुमा निरन्तर हुँदै आएको नेपाली क्रिकेटको सबभन्दा ठूलो फ्रेन्चाइज लिग इपिएलका टिमहरुले प्रतियोगिताको अस्तित्व समाप्त नगर्न क्यानसँग अनुरोध गरेका थिए । क्यानले इपिएलको अस्तित्व समाप्त गरे यो प्रतियोगितासँग आबद्ध सबै व्यावसायिक प्रतिष्ठानले क्रिकेटमाथि आर्थिक नाकाबन्दी लगाउने चेतावनी दिएका थिए ।

त्यसअघि नेपाल टी २० लिगको वारेमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा क्यानले अबका दिनमा अरु फ्रेन्चाइज ट्वान्टी २० प्रतियोगिता नहुने जनाएको थियो । त्यसैको विरोधमा इपिएल र त्यसका फ्रेन्चाइज टिमले पत्रकार सम्मेलन गरेका थिए ।

आज बस्ने क्यानको कार्यसमिति बैठकमा यिनै बुदामाथि छलफल केन्द्रित हुने बताइएको छ । क्यानका एक पदाधिकारीले जानकारी गराएअनुसार चार दिनअघि सुचना जारी गर्दै आजका लागि बैठक बोलाइँदा सचिवालयले एजेन्डा पठाएको थिएन । तर आज बिहानसम्म पनि सदस्यहरुले एजेन्डा माग गर्दै क्रिकेटको च्याट ग्रुपमा लेखेपछि भने करिव १० बजे एजेन्डा त्यही ग्रुपमै पठाइएको थियो ।

ति पदाधिकारीले जानकारी गराएअनुसार आज बिहान सवा ९ बजे कार्यकारी सदस्य दाउद अन्सारीले एजेन्डा माग गर्दै ग्रुपमा लेखेका थिए । अन्य सदस्यहरुले पनि दाउदलाई साथ दिँदै क्यान विधि, विधान र पद्दतिमा नचलेको भन्दै आलोचना गर्न थालेपछि करिव १० बजे सचिव प्रशान्तविक्रम मल्लले एजेन्डा पठाएका थिए ।

मल्लले च्याट ग्रुपमा पठाएको एजेन्डाअनुसार आज क्यानको बैठकमा नेपाल टी २० लिगका फ्रेन्चाइजी टिमको नाम, इपिएलको विषय, खेलाडी तथा कर्म्रचारीको तलब, आइसिसीसँग बैठकको जानकारी र विविध विषयमा छलफल हुनेछ ।