नेपाली क्रिकेट

युवा टोलीका लागि राम्रो सुरुआतः कप्तान सन्दीप

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछाने यसै वर्षको नोभेम्बरमा अस्ट्रेलियामा हुने ट्वान्टी २० विश्वकप क्रिकेटमा स्थान बनाउन नसके पनि युवा टोलीका लागि यो राम्रो सुरुआत भएको बताएका छन् । शुक्रबार स्वदेश फर्किएको नेपाली टोलीका कप्तान सन्दीपले त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै यस्तो बताएका हुन् ।

ओमानमा सम्पन्न ग्लोबल छनोटमा समूह ‘बी’ को विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको नेपालको संयुक्त अरब इमिरेटस् (युएई) लाई ६८ रनको नतिजा सुम्पिएसँगै ट्वान्टी २० विश्वकप खेल्ने लक्ष्यमा पूर्णविराम लागेको थियो ।

ग्लोबल छनोटको विजेता युएई र उपविजेता आयरल्यान्डले ट्वान्टी २० विश्वकपको टिकट काटेका थिए ।

‘हामी जुन लक्ष्यका साथ ओमान भ्रमणमा निस्किएको थियौ, त्यो लक्ष्यको पूरा नभए पनि समग्रमा हाम्रा लागि प्रतियोगिता राम्रो भयो जस्तो लाग्छ,’ सन्दिपले भने, ‘युवा टोलीका लागि यो राम्रो सुरुआत हो । नेपालले प्रतियोगितामा जुन प्रकारको प्रदर्शन गरेको छ, त्यसले नेपाली क्रिकेटको भविष्य राम्रो छ र हामीले अझ उच्च स्तरमा प्रदर्शन गर्न सक्छौ भन्ने संकेत गरेका छौ । म खेलाडीले गरेको मिहनेतका लागि धन्यवाद दिन चाहान्छु ।’

सन्दिपले प्रतियोगितामा राम्रो प्रदर्शन गरे पनि एक खेलमा दुर्भाग्यजनक प्रदर्शन हुँदा विश्वकप छनोटबाट बाहिरएको बताए ।
‘हामीले धेरै राम्रो प्रदर्शन गर्यौ,सन्दिपले भने,हामीले प्रतियोगितामा खेलिएको पाँचमध्ये चार खेल जित्यो । एक खेलमा दुर्भाग्यजनक प्रदर्शन हाम्रा लागि महंगो साबित भयो । हामीले यहाँबाट पाठ सिक्दै अघि बढ्नुपर्छ ।’