ट्वान्टी २० विश्वकप ग्लोबल छनोट

सागर टोलीमा समावेश

काठमाडौं । आइसिसी ट्वान्टी २० विश्वकपको ग्लोबल छनोट खेल्न ओमान जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीमा सागर ढकाल समावेश भएका छन् । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले सागरलाई टोलीमा राखेका हुन् ।

युवा स्पिनर सागरले यु १९ टोलीमा नेपालको प्रतिनिधित्व गरिसकेका छन् । सागर टोलीमा समावेश भएसँगै १७ सदस्यीय नेपाली टोली ओमान प्रस्थान गर्ने भएको छ । नेपाली टोली आज (मंगलबार) ८ः३० बजे ओमान प्रस्थान गर्दैछ ।

छनोटका लागि सन्दीप लामिछानेको कप्तानीमा घोषित नेपाली टोलीमा दुई नयाँ अनुहार विवेक यादव र लोकेश बमसमावेश छन् । यस्तै, लामो समय मैदानबाट बाहिर रहेका जितेन्द्र मुखिया र प्रदीप ऐरीले पनि टोलीमा पुनरागमन गरेका छन् ।

यसबाहेक नेपालीमा टोलीमा पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, करण केसी, अविनाश बोहरा, शरद भेसावकर, आरिफ शेख, आशिफ शेख, कुशल मल्ल, कुशल भुर्तेल, साहब आलम र कमलसिंह ऐरी टोलीमा छन् ।

ग्लोबल छनोटका लागि नेपालसहित आयोजक ओमान, फिलिपिन्स, क्यानाडा, युएई, बहराईन, आयरल्यान्ड र जर्मनी बिच खेल हुने छ । फेब्रुअरी १८ देखि २४ तारिखसम्म हुने छनौट खेलअन्तर्गत समूह ‘ए’ मा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान रहेका छन् भने समूह ‘बी’ मा युएई, बहराईन, आयरल्यान्ड र जर्मनी छन् ।

छनोटअघि नेपालले ओमानमा चारदेशीय टी–२० शृंखला खेल्ने तालिका समेत रहेको छ । शृंखलामा नेपालसहित आयरल्यान्ड, युएई र ओमान रहेका छन् ।