अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखला

बंगलादेशविरुद्ध अस्ट्रेलिया १० विकेट विजयी

काठमाडौं । घरेलु टोली बंगलादेशविरुद्ध महिला अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखलाको पहिलो खेलमा अस्ट्रेलियाले १० विकेटको सानदार जित निकालेको छ ।

जितसँगै अस्ट्रेलियाले तीन खेलको शृंखलामा १-० को अग्रता लिएको छ । शृंखलको दोस्रो खेल मंगलबार हुनेछ ।

ढाकास्थित शेर बंगाल राष्ट्रिय रंगशालामा आइतबार बंगलादेशले प्रस्तुत गरेको १२७ रनको लक्ष्य अस्ट्रेलियाले १३ ओभरमा कुनै पनि विकेट नगुमाइ पूरा गर्यो । 

अस्ट्रेलियाका लागि कप्तान एलिस हेलीले ४२ बलमा नौ चौका र एक छक्काको मद्दतले अविजित ६५ रनको योगदान गरिन् । यसैगरी बेथ मोनी ३६ बलमा नौ चौकाको मद्दतले ५५ रनमा अविजित रहिन् ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको बंगलादेशले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १२६ रनको योगफल तयार पार्यो ।

बंगलादेशका लागि कप्तान निगर सुल्तानाले ६४ बलमा सात चौकाको मद्दतले अविजित ६३ रनको योगदान गरिन् । यसैगरी फहिमा खातुनले २७ र मुर्शिदा खातुनले २० रन बनाए ।

चौथो विकेटका लागि निगर र फहिमाले ६० रनको साझेदारी गरे । अस्ट्रेलियाका लागि सोफी मोलिनेयुक्सले दुई तथा टेला भ्यालमिन्क र जर्जिया वेरहमले समान एक विकेट लिए ।