कोशी प्रदेश ट्रफी

कोशी प्रदेश ट्रफीः लुम्बिनी र मधेश विजयी

विराटनगर । मोरङ क्रिकेट संघको आयोजनामा जारी कोशी प्रदेश ट्रफी पेप्सी नेसनल राष्ट्रिय ट्वान्टी-२० क्रिकेट प्रतियोगितामा बिहीबार लुम्बिनी र महेश प्रदेश विजयी भएका छन् ।

विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा सम्पन्न दिनको पहिलो खेलमा लुम्बिनीले गण्डकी प्रदेशलाई सात विकेटले पराजित गर्यो ।

गण्डकीले प्रस्तुत गरेको ९१ रनको लक्ष्य लुम्बिनीले १६.१ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो । लुम्बिनीका लागि कप्तान देव खनालले ३४ र आकाश त्रिपाठीले अविजित २९ रन बनाए ।

गण्डकीका लागि सुवास भण्डारीले दुई र सन्दीप पराजुलीले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको गण्डकीले १७.१ ओभरमा सबै विकेट गुमाउँदै ९० रनको योगफल तयार पार्यो । गण्डकीका लागि दीपक डुम्रेले २८, इश्वर क्षेत्रीले १८ र समिर कँडेलले ११ रन बनाए ।

लुम्बिनीका लागि वीर मगरले ३.१ ओभरमा १६ रन खर्चिदै चार विकेट लिए । यसैगरी निर्मल गुरुङ र कृष्ण कार्कीले समान दुई तथा दुर्गेश गुप्ता र राहुल चौहानले समान एक विकेट लिए ।

दिनको दोस्रो खेलमा मधेशले घरेलु टोली कोशी प्रदेशलाई तीन विकेटले हरायो ।

कोशीले प्रस्तुत गरेको ११८ रनको लक्ष्य मधेशले १९.३ ओभरमा सात विकेट गुमाउँदै पूरा गर्यो । मधेशका लागि अर्निको यादवले २७, मायन यादवले २४,अविशेक तिवारीले १८,शाहिल पटेलले अविजित १७ र विशाल सुस्लिङले अविजित १३ रन बनाए ।

कोशीका लागि दीपेश कँडेलले तीन तथा फिर्दोश अन्सारी, भुपाल लुँइटेल र कप्तान अंकित सुवेदीले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको कोशीले १९.४ ओभरमा सबै विकेट गुमाउँदै ११७ रनको योगफल तयार पार्यो । कोशीका लागि सार्वन यादवले २३, फिर्दोश अन्सारीले २२, दीपेश कँडेलले अविजित २१, सुजन थपलियाले १६, भुपाल लुँइटेलले १५ र अंकित सुवेदीले १० रन बनाए ।

मधेशका लागि अविशेक तिवारीले मात्र चार बल बलिङ गर्दै एक रन खर्चिएर तीन विकेट लिए । यसैगरी रञ्जित कुमारले तीन तथा राजेश यादव र कप्तान हरिशंकर शाहले समान दुई विकेट लिए ।