युरोपा लिग

लिभरपुलको सहज जित

काठमाडौं । युरोपा लिग फुटबलको अन्तिम १६ मा लिभरपुलले स्पार्ट प्रागुलाई ५–१ ले हराएको छ । बिहीबार राति भ्रमणकारी टोली लिभरपुलले सहज जित निकाल्दै क्वार्टरफाइनलको सम्भावना बलियो बनाएको हो ।

दोस्रो लेग मार्च १५ मा एनफिल्डमा हुनेछ । लिभरपुलको जितमा डार्विन नुनेजले दुई गोल गरे । यस्तै, एलेक्स म्याक एलिक्टर, लुइस डिआज र डोमिनिक स्चोबोजलाइले एक गोल गरेका हुन् । कनर ब्राड्लीले आत्माघाति गोल गरे ।

लिभरपुलले पहिलो हाफमै खेल नियन्त्रणमा राखेको थियो । अर्जेन्टिनी स्टार एलिस्टरले छैटौं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै अग्रता बनाए । नुनेजले २५औं मिनेटमा दोस्रो तथा पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै पहिलो हाफमै ३–० को अग्रता बनाएका हुन् । ब्राड्लीले आत्माघाति गोल गर्दा प्रागुले खेल ३–१ मा झारेको थियो ।

५३औं मिनेटमा डिआजले ४–१ ले अगाडी रह्यो । खेलको इन्जुरी समयमा डोमिनिकले पाचौं गोल गरेका हुन् । यसअघि ८४औं मिनेटमा मोहम्मद सलाहले गोल गरेपनि भिडियो असिस्टेन रेफ्रीले त्यसलाई मान्यता दिएन ।