दाङ क्रिकेट लिग

दाङ क्रिकेट लिगः दंगाली लायन्स र तुलसीपुर रोयल्स फाइनलमा

काठमाडौं । दंगाली लायन्स र तुलसीपुर रोयल्स नेपाल टेलिकम दाङ क्रिकेट लिगको दोश्रो सस्करणमा फाइनल प्रवेश गरेका छन्।

घोराही स्थित घोराही क्रिकेट स्टेडियममा शुक्रबार घोराहीले देउखुरी वारियर्सलाई तथा तुलसीपुरले घोराही टाइगर्सलाई पराजित गरे। प्रतियोगिताको फाइनल शनिबार हुनेछ ।

लिग चरणको सम्पूर्ण खेल समाप्त हुँदा तुलसीपुर रोयल्स सबै चार खेलमा जित दर्ता गर्दै आठ अंक सहित शिर्ष स्थानमा रह्यो। दोश्रो स्थानमा रहेको दंगाली लायन्सले चार  खेलमा तीन जित र एक हारको नतिजा निकाल्यो ।

घोराही टाइगर्स चार अंकसहित तेश्रो, पुरनधारा च्यालेन्जर्स दुई अंकसहित चौंथो तथा सबै चार खेलमा पराजित देउखुरी अंकविहिन रहँदै पाँचौ स्थानमा रह्यो।

दिनको पहिलो खेलमा दंगाली लायन्सले देउखुरी वारियर्सलाई ६ विकेटले पराजित गर्यो। देउखुरीले प्रस्तुत गरेको १२६ रनको लक्ष्य दंगालीले १८.४ ओभरमा पूरा गर्यो ।

दंगाली लायन्सका लागि ओपनर शंकर रानाले अविजित ५९ बलमा पाँच चौका र दुई छक्काको मद्दतले ६७ रन योगदान दिए। यसैगरी बसिर अहमदले २५, शिशिर डाँगीले अविजित १७ रन बनाए। तेश्रो विकेटको लागि शंकर र बसिरले ६१ रनको साझेदारी  गरे।

देउखुरीका विशालविक्रम केसीले दुई तथा सुभम खनाल र प्रज्वल थापाले समान एक विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको देउखुरी वारियर्सले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १२५ रनको योगफल तयार पार्यो ।

देउखुरीको लागि ओपनर विशालविक्रम केसीले सर्वाधिक ४४ रन बनाए । यस्तै आवाज गौतमले अविजित १७ रन, आशिष ओली र थमन ओलीले समान १५ रन तथा सुभम खनालले अविजित १० रन योगदान दिए।

दंगाली लायन्सका बसिर अहमदले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा २६ रन खर्चिए। शंकर रानाले २ तथा विपिन खत्री, वीरबहादुर घर्ती मगर र प्रकाश जैसीले एक विकेट लिए।

दिन दोश्रो खेलमा तुलसीपुर रोयल्सले घोराही टाइगर्सलाई ४१ रनले पराजित गर्यो।

तुलसीपुरले प्रस्तुत गरेको १५१ रनको लक्ष्य पछ्याएको घोराहीले २० ओभर नै ब्याटिङ गर्दा नौ विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो।

घोराहीका लागि दिपेश कँडेलले सर्वाधिक २४ रन, सुशान्तसिंह थापाले २२ रन, युनिसविक्रम सिंहले १७ तथा रबिन थापाले १३ रन योगदान गरे ।

तुलसीपुर रोयल्सका लागि अमरसिंह रौटेला र नबिन बिकले २र२ तथा रुपेश सिंह, दिवान पुन र विराटसिंह भण्डारीले समान एक विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङ रोजेको तुलसीपुर रोयल्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५० रनको योगफल तयार पार्यो ।

तुलसीपुरका लागि शंकर बुढाले ४३, विपिन रावलले ३१ तथा अमरसिंह रौटेलाले ३० र भुवन कार्कीले १३ रन बनाए।

घोराही टाइगर्सका लागि पेश कँडेलले सर्वाधिक तीन, मिलन बुढाथोकीले दुई तथा रबिन थापा र युनिष विक्रम सिंहले समान एक विकेट लिए ।