प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता

प्रधानमन्त्री कपः बागमतीमाथि सुदूरपश्चिमको सहज जित

काठमाडौं । बागमती प्रदेशमाथि ९ विकेटको सहज जित निकाल्दै सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री कप महिला ट्वान्टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो क्वालिफायरमा स्थान बनाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान आइतबार सम्मपन्न एलिमिनेटरमा बागमतीले प्रस्तुत गरेको १ सय रनको लक्ष्य सुदूरपश्चिमले १४.३ ओभरमा मात्र १ विकेट गुमाउँदै पूरा गर्यो ।

सुदूरपश्चिमका लागि विन्दु रावलले ४९ बलमा ७ चौकाको मद्दतले अविजित ५४ रन बनाइन् । यसैगरी सम्झना खड्काले अविजित २१ र रुबी पोदारले १८ रन बनाए ।

दोस्रो विकेटका लागि विन्दु र सम्झानले अविजित ५७ रनको साझेदारी गरे । बागमतीका लागि १ मात्र विकेट मनिषा उपाध्यायले लिइन् ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको बागमतीले १९ ओभरमा सबै विकेट गुमाउँदै ९९ रनको योगफल तयार पारेको थियो । बागमतीका लागि कञ्चन श्रेष्ठले ३६, सोनी पाख्रिनले १४ तथा हेलिशा गुरुङ र खुसी डंगोलले समान १० रन बनाए । 

सुदूरपश्चिमका लागि करिस्मा थापाले ३ तथा लक्ष्मी साउद र कप्तान ऋतु कनोजियाले समान २ विकेट लिए ।  

लिग चरणबाट सुदूरपश्चिम तेस्रो र बागमती चौथो स्थानमा रहेर प्ले अफमा स्थान बनाएका थिए । सुदूरपश्चिमले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा कोशी प्रदेशको सामना गर्नेछ । कोशीले पहिलो क्वालिफायरमा नेपाल एपिएफ कलबसँग ५२ रनको पराजय ब्यहोरेको थियो ।