पेप ग्वाड्रिओला

लिभरपुरल सिटीभन्दा राम्रो टोली होः ग्वाड्रिओला

काठमाडौं । इङ्लिस क्लब म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वाड्रिओलाले लिभरपुल आफूहरुभन्दा राम्रो रहेको बताएका छन् ।

उपाधि दावेदारका बारेमा गरिएको प्रश्नमा ग्वाड्रिओलाले लिभरपुल सिटीभन्दा राम्रो भएकाले यसपाली उपाधि जित्न गाह्रो हुने बताएका हुन् ।

साबिक विजेता सिटीले घरेलु लिगमा कमजोर सुरुआत गरेको थियो । तर, पछिल्लो दुई खेलमा भने सिटीले स्पष्ट ६ अंक हासिल गरेको छ र उ अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

ग्वाड्रिओलाको सिटी कीर्तिमानी लगातार चौंथो प्रिमियर लिग उपाधि जित्ने लक्ष्यमा छ । तर, स्पेनिस प्रशिक्षक ग्वाड्रिओलाले यसका लागि लिभरपुलले खराब खेल्नुपर्ने बताए । लिभुरपुल अहिले तालिकाको शीर्ष स्थानमा छ ।

‘उपाधि दौड एकदमै प्रतिस्पर्धात्मक छ । हामी तालिकाको शीर्ष स्थानमा छैनौं । लिभरपुल हामीभन्दा एकदमै राम्रो छ, ’ सेफिल्ड युनाइटेडविरुद्ध २–० को जित हासिल गरेपछि ग्वाड्रिओलाले भने ।

‘हाम्रा केही खेलाडीले चोट बोकेका छन् । हामीले पछिल्ला केही वर्षमा महत्वपूर्ण उपाधिहरु जित्यौं । अब हामी त्यसैलाई प्रेरणाको श्रोत मानेर यसपाली पनि उपाधि जित्ने तयारीमा लाग्नेछौं । नोभेम्बर र डिसेम्बरभन्दा जनवरीमा खेल्न केही सहज हुन्छ । त्यसैले जनवरी देखी हामी निरन्तर राम्रो नतिजा ल्याउने प्रयास गर्नेछौं, ’ ग्वाड्रिओलाले भने ।

शनिबार रोड्री र युलियन आल्भारेजको गोलमा सिटीले सेफिल्डलाई पराजित गरेको थियो । प्राप्त जित सिटीको सबै प्रतियोगितामा लगातार चौंथो जित हो । इर्लिङ हालान्डको आगमनपछि यसले थप निरन्तरता पाउने आशा गरिएको छ । हालान्ड अहिले चोटका कारण मैदान बाहिर छन् ।

चार महिनापछि मैदान फर्किएका केभिन डि ब्रुइना शनिबार बेन्चमै रहे । तर, उनको पुनरागमनपछि ग्वाड्रिओलालाई केही राहत भने मिलेको छ । डि ब्रुइना टोलीमा फर्किएपछि ग्वाड्रिओलासँग अब एक राम्रो खेलाडीको विकल्प हुनेछ ।