आईसिसी एकदिवसीय विश्वकप

सेमिफाइनल सम्भावना कायम राख्न श्रीलंकाले बंगलादेशलाई हराउनै पर्ने

काठमाडौं । भारतमा जारी आईसिसी एकदिवसीय विश्वकपमा आज (सोमबार) श्रीलंका र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउसो सवाँ २ बजे दिल्लीको अरुण जेटली मैदानमा हुनेछ । त्यसअघि २ बजे टस हुने तालिका छ ।

सेमिफाइनलबाट बाहिरिसकेको बंगलादेश आजको खेलमा जित निकाल्दै सन् २०२५ मा आयोजना हुने आईसिसी च्याम्पियन्स ट्रफीमा छनोट हुन चाहन्छ । श्रीलंकाको भने सेमिफाइलनमा स्थान बनाउने सम्भावना कायम छ । श्रीलंका बंगलादेशलाई हराउँदै सेमिफाइनल सम्भावना राख्न चाहन्छ । यदि हारले श्रीलंका विश्वकपबाट बाहिर हुनेछ ।

श्रीलंकाले सात खेलमा दुई जितसहित चार अंक जोडेर सातौं स्थानमा छ । बंगलादेश सात खेलमा एक खेल जितेर दुई अंकसहित नवौं स्थानमा छ ।

दुईबीचको विश्वकप हेड टु हेडमा श्रीलंका बलियो छ । अहिलेसम्म खेलिएको चार मध्ये तीन खेल श्रीलंकाले जितेको छ । एक खेल वर्षाका कारण अनिर्णित भयो ।

एकदिवसीयमा दुई बीच ५३ खेल भएका छन् । जसमा श्रीलंकाले बढी ४२ र बंगलादेशले कम ९ खेल जितेको छ । दुई खेलमा कुनै नतिजा आएन । दुई टोलीपछि पछिल्लो भेट एसिया कपमा भएको थियो । जहाँ श्रीलंका २१ रनले विजयी भएको हो ।

यस विश्वकपमा बंगलादेशका मोहम्मदुल्लाहले सर्वाधिक रन बनाएका छन् । उनले ६ खेलमा दुई सय ७४ रन बनाएका हुन् । उनको नाममा एक सतक र एक अर्धसतक छ । बंगलादेशका मेहदी हसन मिराजले सर्वाधिक ९ विकेट लिएका छन् ।

श्रीलंकाका सदिरा समरविक्रमले सर्वाधिक तीन सय ३१ रन बनाएका छन् । उनी प्रतियोगितामा श्रीलंकाको तर्फबाट सर्वाधिक रन बनाउने पहिलो खेलाडी हुन् । उनले सात खेल खेल्दा एक सतक बनाएका थिए । बलिङतर्फ दिलशान मदुसंका ११ विकेट लिँदा शीर्ष स्थानमा छन् ।