आइपिएल

गुजरात र दिल्ली भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ अन्गर्गत आज (मंगलबार)हुने खेलमा साबिक विजेता गुजरात टाइटन्सले दिल्ली क्यापिटल्सको सामना गर्दै छ ।

खेल नेपाली समयअनुसार दिल्लीको घरेलु मैदान अरुण जट्ली क्रिकेट स्टेडियममा राति ७ः ४५ मा सुरु हुनेछ ।

पहिलो खेलमा चेन्नई सुपर किंग्सलाई पाँच विकेटले पराजित गरेको गुजरात आज पनि त्यसलाई निरन्तरता दिने लक्ष्यमा छ ।  

हार्दिक पाण्ड्याको कप्तानीमा मैदान उत्रिने गुजरातलाई शुभमन गिल, राशिद खान, मोहम्मद शामी जस्ता खेलाडीको साथ रहनेछ । अघिल्लो खेलमा गिलले ६३ रन बनाउँदा खानले दुई विकेट लिएका थिए ।

गुजरातका मुख्य ब्याटर केन विलिमसनले भने चोटका कारण लिगका बाँकी खेल गुमाउने भएका छन् ।

पहिलो खेलमा लखनउ सुपर जायन्टसँग ५० रनको पराजय ब्यहोरेको दिल्ली घरेलु मैदानको फाइदा उठाउँदै पहिलो जित निकाल्न चाहन्छ  । 

डेविड वार्नरको कप्तानीमा मैदान उत्रिने दिल्ली राइली रुस्सो, चेतन सकारिया, अक्षर पटेल लगायतका खेलाडीमा निर्भर रहनेछ ।

पहिलो खेलमा रुस्सोले ३० रन बनाउँदा सकारियाले दुई विकेट लिएका थिए ।

गुजरात र दिल्लीले हाल सम्म एक पटक मात्र एक अर्काको सामना गरेका छन् । गत संस्करणको भेटमा गुजरात १४ रनले विजयी भएको थियो ।