इङ्लिस प्रिमियर लिग

विगतकै कारण बर्खास्तीबाट जोगिएको छुः क्लोप

काठमाडौं । इङ्लिस प्रिमियर लिगको क्लब लिभरपुलका मुख्य प्रशिक्षक योर्गेन क्लोपले क्लोपले वर्तमान प्रदर्शन भन्दा पनि विगतकै कारण आफु अझै पनि लिभरपुलको मुख्य प्रशिक्षक रहेको बताएका हुन् ।

‘यदि यो मेरो पहिलो सिजन हुन्थ्याे भने अवस्था फरक हुने थियो,’ जर्मन प्रशिक्षक क्लोपले  भने,‘मलाई यो राम्रोसँग थाह छ,म विगतको कारणले अहिलेसम्म बर्खास्तीबाट जोगिइरहेको छु । हामीसँग स्मार्ट मालिकहरू छन्, जसलाई  क्लबको अवस्थाको बारेमा बुझेका छन् ।’

क्लोप सन् २०१५ देखि लिभरपुलको प्रशिक्षण सम्हाली रहेका छन् । उनको प्रशिक्षणमा लिभपुलले सन् २०१९/२० को सिजन लिग उपाधि जितेको थियो । यो लिभपुलले सन् १९८९/९० पछि जितेको पहिलो लिग उपाधि थियो ।

यसैगरी क्लोपकै प्रशिक्षणमा लिभरपुलले सन् २०१८/१९ को सिजनमा युरोपियन फुटबल महासंघ (युइएफए) च्याम्पियन्स लिग उपाधि जित्दा सन् २०१७/१८ र २०२१/२२ ( गत संस्कण) मा उपविजेता बनेको थियो ।

गत संस्करण प्रिमियर लिगको दोस्रो स्थानमा रहेको लिभरपुल पहिल्लाे समय भने खराब लयमा छ ।  यस सिजन २७ खेलमा १२ जित, नौ हार र ६ बराबरीको नतिजासहित ४२ अंक जोडेको लिभरपुल लिगको आठौं स्थानमा छ ।

प्रिमियर लिग अन्तर्गत मंगलबार हुने खेलमा चेल्सीविरुद्ध मैदान उत्रिँदा लिभरपुललाई आफ्नो खराब लयको चिन्ता हुनेछ । लिभरपुल शनिबार भएको खेलमा म्याचेस्टर सिटीसँग ४-१ ले पराजित भएको थियो ।

प्रिमियर लिग क्लबले जारी सिजनमा १२ प्रशिक्षकलाई बर्खास्त गरिसकेका छन् । पछिल्लो पटक पद मुक्त हुनेको चेल्सीका ग्राहम पोर्टर र लेस्टर सिटीका ब्रेन्डन रोजर्स हुन् । उनीहरुलाई शनिबार मुख्य प्रशिक्षकबाट हटाइएको थियो ।